काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ ।
मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । तर उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन ।
मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले भने, ‘पानीमा बत्ती बलेको पनि देखिएको थियो । अहिले चाहिँ बत्ती निभेको छ । तर गाडी कस्तो खालको हो, कत्रो हो, कहाँ जाँदै थियो भन्ने केही खुलेको छैन ।’