दमौली । दरै जाति मात्रै सहभागी रहेको प्रथम राष्ट्रिय दरै कप सेभेन ए साइड फुुटबल प्रतियोगिता तनहुँको दमौलीमा आजदेखि सुरु भएको छ । दरै समाज तनहुँको आयोजनामा व्यास नगरपालिका–३ बिपी वनवाटिका खेलमैदानमा राष्ट्रिय दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा छ वटा जिल्लाका २३ समूहको सहभागिता रहेको दरै समाजका सचिव विजय दरैले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तनहुँ, चितवन, नवलपुर, गोरखा, धादिङ र पाल्पाका दरै समुदायका खेलाडीको सहभागिता रहेको छ । नेपालका १३ जिल्लामा दरै समुदायको बसोबास रहेकामा करिब २० हजार जनसङ्ख्या छ ।
प्रतियोगितामा विजेतालाई नगद रु एक लाख एक हजार एक सय ११ र उपविजेतालाई रु ५१ हजार एक सय ५१ नगद पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष ठाकुर दरैले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभा सदस्य एवं प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले दरै समुदायले हरेक क्षेत्रमा पहुँच बढाउनुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका प्रमुख इन्दिरा दरैले नगरभित्रका दरै समुदायको उत्थानका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
नेपाल दरै उत्थान समाजका केन्द्रीय अध्यक्ष मङ्गलराम दरैले संस्कृतिमा धनी रहेपनि दरै समुदाय अझै पनि पछाडि परेको उल्लेख गरे । नेकपा (एमाले)का जिल्ला सचिव राजेश्वर ढकाल र नेकपा (माओवादी) केन्द्रका संयोजक ओमराज आलेले अल्पसङ्ख्यक दरै समुदायको पहिचान स्थापितका लागि खेलकुदको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने बताए ।
कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा विभिन्न पालिकामा निर्वाचित दरै समुदायका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । त्यस्तै इन्जिनियरिङ उत्तीर्ण व्यास–१० निवासी सुजन दरै, व्यास नगरपालिका–१ निवासी मनोज दरै, ऋषिङ गाउँपालिका–५ रामप्रसाद दरैलाई सो अवसरमा सम्मान गरिएको थियो ।