दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने बताएका छन्। रास्वपा व्यास नगर समितिको शनिबार दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले पार्टीमा अनुशासन आवश्यक पर्ने भएकाले अनुशासन र विधिलाई कडाईका साथ पालना गर्नुपर्ने उल्लेख गरे ।
पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले प्राथमिकता नदिने वाग्लेको भनाई थियो । उनले भने, “पुराना पार्टीमा गुटबन्दी, नेताको चाकरी गर्ने प्रवृत्ति छ, हाम्रोमा पनि त्यस्तो प्रयास हुन सक्छ । त्यसमा हामी सचेत छौं ।”
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रहनुभएका वाग्लेले भ्रष्टाचार, विकृति र कुशासन भित्र्याउन खोज्ने तत्व विरुद्ध सचेत हुँदै त्यस्ता तत्वलाई हटाउन निर्मम बनिने उल्लेख गरे । पार्टीमा देशैभर सर्वसाधारण जनताको आकर्षण बढेको बताउँदै आगामी चुनावमा रास्वपाको लहर आउने वाग्लेले दावी गरे ।
उनले भने “तनहुँ र चितवनको उपनिर्वाचनले पार्टीमा जनलहर आएको प्रमाणित भइसकेको छ । आगामी चुनाव २०८४ मा पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा हामी चुनावमा जाने हो ।” डा. वाग्लेले पार्टीका १९ जना सांसद ४९ वर्षभन्दा कम उमेर समूहका रहेको बताउँदै अगाडी थपे, “हामीले अझै २० वर्षका लागि नेतृत्व तयार गरिसकेका छौ । पाका नेताहरुलाई समेत पार्टीमा उचित जिम्मेवारी दिइन्छ ।”
डा. वाग्लेले राजनीतिलाई सङ्ल्याउने अभियानलाई अगाडी बढाउँदै सामाजिक न्याय सहितको उद्धार अर्थतन्त्रकोे नीति लिइएको बताए। काङ्ग्रेसलाई कम्युनिष्ट बन्न गाह्रो र कम्युनिष्टलाई काङ्ग्रेस बन्न गाह्रो हुने भन्दै वाग्लेले रास्वपामा भने सबै अट्ने दावी गरे । उनले भने “सबै नेपाली अटाउन सक्ने पार्टी भनेको रास्वपा हो । नेपाली माटो सुहाउँदो पार्टीको छ ।” पार्टीमा नेतृत्व गर्न आउनेलाई केन्द्रबाट हस्तक्षेप नगर्ने भन्दै उनले तल्लो तहबाटै नेतृत्व छनोट गरिने बताए ।
सङ्घीयताप्रति पार्टीको स्पष्ट धारणा रहेको बताउँदै नेपाललाई भार पार्ने खालको संरचना आवश्यक नरहेको वाग्लेले बताए। आफूहरु सङ्घीयताको विरोधी नभएको बताउँदै प्रदेश संरचना आवश्यक नरहेको उनले बताए ।