दमाैली । तनहुँको व्यास नगरपालिका–६ साँगे निवासी २२ वर्षीय सन्तोष लामिछानेले विसं २०७८ मा लोकसेवा आयोगका दुई परीक्षा दिए । गण्डकी र बागमती प्रदेश लोकसेवा आयोगका दुवै परीक्षामा उनले सफलता पाएनन् ।
तर उनले प्रयास छाडेनन् । फलस्वरुपः लामिछानेले चार महिनाको अवधिमा लोकसेवा आयोगका पाँच वटा परीक्षा उत्तीर्ण गरेका छन् । सरकारी जागिरमा प्रवेश गरी सेवा गर्ने लक्ष्य सहित लामिछानेले चार महिनाको अवधिमा पाँच वटा परीक्षा उत्तीर्ण गरेका हुन् ।
लामिछानेले सुदुरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेश लोकसेवा आयोगबाट लिइएका पाँच वटा परीक्षा उत्तीर्ण गरेका हुन् । विसं २०७९ चैतदेखि २०८० असारसम्म लिइएको परीक्षामा लामिछानेले सफलता हासिल गरे ।
लामिछानेले चार वटा प्रदेश अन्तर्गतका लोक सेवा आयोगबाट कृषि प्रसार÷बागबानी समूम अन्तर्गतको प्राविधिक सहायकको परीक्षा उत्तीर्ण गरेको जानकारी दिए । लामिछानेले बागमती प्रदेश लोक सेवा आयोगबाट विसं २०७९ चैत ११ गते लिइएको स्थानीयतर्फको प्राविधिक सहायक, लुम्बिनी प्रदेश लोक सेवा आयोगबाट विसं २०८० वैशाख ९ गते लिइएको कृषि (एकीकृत) समूह अन्तर्गतको प्राविधिक सहायक, सोही मितिको कृषि, एकीकृत (कृषि प्रसार÷बागवानी) समूहको प्राविधिक सहायक, सुदुरपश्चिम लोक सेवा आयोगबाट विसं २०८० असार ३० गते लिइएको कृषि प्रसार समूहअन्तर्गतको प्राविधिक सहायक र कोशी प्रदेश लोकसेवा आयोगबाट विसं २०८० वैशाखमा लिइएको गरी पाँच वटा परीक्षा उत्तीर्ण गरेका थिए ।
लामिछाने हाल कोशी प्रदेश अन्तर्गत झापाको अर्जुनधारा गाउँपालिकाको कृषि शाखामा प्राविधिक सहायकको रुपमा गत भदौदेखि कार्यरत छन् ।
विसं २०५८ असार ६ गते जन्मिनुभएका लामिछानेले विसं २०७८ सालबाट लोकसेवा आयोगको परीक्षा दिन थालेका थिए । त्यसबेला उनी बागमती र गण्डकी प्रदेश लोकसेवा आयोगको परीक्षामा अनुत्तिर्ण भएका थिए । परीक्षामा अनुत्तिर्ण भएपनि उनले प्रयास भने जारी राखे । उनले भने “घरपरिवारबाटै सरकारी सेवामा प्रवेश गर्नुपर्छ भनेर प्रोत्साहन भइरहन्थ्यो, एकपटक असफल हुँदैमा प्रयास छाड्ने मनस्थितिमा थिइँन । त्यसपछिका प्रयासहरुमा भने लगातार सफलता मिल्यो ।”
विसं २०७२ सालमा साँगेकै इन्दु माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका लामिछानेले चितवनको एक क्याम्पसबाट आइएस्सीएजी उत्तीर्ण रेका थिए । पढाइमा सानैदेखि अब्बल लामिछानेले लोकसेवाको पहिलो प्रयासमा भने असफलता बेहोर्नुपरेको थियो । उनले भने “विसं २०७७ मा स्नातक अध्ययन सकेर २०७८ देखि लोकसेवाको तयारी थालेको थिएँ । चार महिनाको अन्तरालमा पाँच वटा परीक्षा उत्तीर्ण गर्दा एकदमै खुसी भएँ ।”
परिश्रम र निरन्तर प्रयास गर्दा सफल भइन्छ भन्ने सुरुदेखि नै लागेको बताउँदै लामिछानेले भने, “लोकसेवाको तयारी घरमै बसेर गरेको थिएँ । दुई पटकको असफलताले नै मलाई झनै मिहिनेत गर्नुपर्छ भन्ने लाग्यो ।”
आफूसँगै अध्ययन गरेका केही साथीहरु विदेशिएपनि लामिछानेलाई भने स्वदेशमै केही गरौं भन्ने भावना सुरुदेखि नै थियो । उनले भने, ‘मलाई पनि धेरैले विदेश जाउँ भनेका थिए तर मैले नेपालमै बसेर देश र जनताको सेवा गर्छु भनेर सङ्कल्प गरेको थिएँ । आज सरकारी सेवामा प्रवेश गरेर जनताको काम गर्न पाउँदा गौरवको महशुस हुन्छ ।”