हैरान्स क्लवकाे अन्तरविद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    हैरान्स क्लवकाे अन्तरविद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०८०, बिहीबार

    दमाैली । तनहुँको सदरमुकाम दमौलीमा बिहीबारदेखि अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको छ । हैरान्स क्लव दमौलीले व्यास नगरपालिका–३ मा दोस्रो अन्तर विद्यालय स्तरीय छात्रछात्रा बास्केटबल प्रतियोगिता आयोजना गरेको हो ।

    बास्केटबल खेलमा युवायुवतीको आकर्षण बढाउने उद्धेश्यले क्लवले प्रतियोगिता आयोजना गरेको हो । दमौलीमा केही वर्षयता बास्केटबल खेलमा आकर्षण बढेकाले दक्ष खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने विश्वास गरिएको क्लवका अध्यक्ष रविन पौडेलले जानकारी दिए ।

    उनले भने “विसं २०७९ असोजमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा महिला बास्केटबल भएको थियो । सो पछि यहाँ बास्केटबल खेलमा आकर्षण बढेको छ । यो प्रतियोगिताले दक्ष बास्केटबल खेलाडी उत्पादन गर्न सहयोग पुग्ने हाम्रो विश्वास छ ।”

    प्रतियोगितामा छात्रतर्फ सात र छात्रातर्फ तीन विद्यालयको सहभागिता रहेको छ । छात्रतर्फ सत्यवती मावि, माया एकेडेमी, निर्मल मावि, पराशर कलेज, बाराही आवासीय माध्यमिक विद्यालय, कन्काई ग्लोवल एकेडेमी र व्यास दिव्यज्योति बोर्डिङ स्कूलको सहभागिता रहेको छ । छात्रातर्फ सत्यवती मावि, पराशर कलेज र बाराही आवासीय माध्यमिक विद्यालयको सहभागिता रहेको क्लवका सचिव अशोक गिरीले जानकारी दिए ।

    रनिङशिल्ड उक्त प्रतियोगितामा छात्रतर्फ प्रथम हुनेलाई रु दश हजार र द्वितीय हुनेलाई नगद रु पाँच हजार प्रदान गरिनेछ भने छात्रातर्फ प्रथम हुनेलाई रु सात हजार र द्वितीय हुनेलाई रु चार हजार नगद पुरस्कार प्रदान गरिनेछ । गत वर्ष आयोजित प्रथम अन्तरविद्यालय स्तरीय बास्केटबलको उपाधि छात्रछात्रा दुवैतर्फ सत्यवती माविले जितेको थियो ।

    यसअघि प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबै क्षेत्रको खेलको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।

    जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले नवौं राष्ट्रिय खेलकुदको प्रभावका कारण जिल्लामा बास्केटबल खेलमा आकर्षण बढेको बताए ।

    व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप राना, कराँते महासङ्घ गण्डकी प्रदेश अध्यक्ष मनिराज थापा, बास्केटबल सङ्घका अध्यक्ष भुवन गोशली लगायतले खेल क्षेत्रको विकासका लागि तीन वटै तहको सरकारको चासो रहनुपर्नेमा जोड दिए ।