दमौली । हैरान्स क्लव दमौलीको आयोजनामा व्यास-३ मा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय बास्केटबल प्रतियोगितामा सत्यवती मावि र वाराही आमावि फाइनल प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न सेमिफाइनलमा व्यास दिव्यज्योति बोर्डिङलाई पराजित गर्दै सत्यवती फाइनलमा प्रवेश गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनलमा पराशर माविलाई पराजित गर्दै वाराही आमावि फाइनल प्रवेश गरेको छ ।
फाइनल खेल सत्यवती र वाराहीबीच शनिबार बिहान हुने क्लवका अध्यक्ष रविन पौडेलले जानकारी दिए ।
छात्रतर्फ सात विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई रनिङशिल्ड ट्रफीका साथै रु दश हजार र द्वितीय हुनेलाई रु पॉच हजार नगद प्रदान गरिनेछ ।
गत वर्ष आयोजित प्रतियोगितामा छात्र छात्रा दुवैको उपाधि सत्यवती माविले जितेको थियो ।