अन्तर माध्यमिक बास्केटबल : छात्रतर्फ सत्यवती र छात्रातर्फको उपाधि पराशरलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तर माध्यमिक बास्केटबल : छात्रतर्फ सत्यवती र छात्रातर्फको उपाधि पराशरलाई

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८०, शनिबार

    दमाैली । हैरान्स क्लव दमौलीको आयोजनामा सम्पन्न अन्तरमाध्यमिक विद्यालय स्तरीय बास्केटबल रनिङशिल्डको उपाधि छात्रतर्फ सत्यवती माध्यमिक विद्यालय र छात्रातर्फ पराशर माध्यमिक विद्यालयले जितेको छ ।

    व्यास नगरपालिका–३ मा शनिबार सम्पन्न फाइनल खेलमा वाराही आवासीय माध्यमिक विद्यालयलाई पराजित गर्दै सत्यवतीले उपाधि जितेको हो । सत्यवतीले वाराहीलाई ३७–२४ अङ्कले पराजित गरेको छ ।

    त्यस्तै छात्रातर्फ वाराही माध्यमिक विद्यालयलाई ३५–५ अङ्कले पराजित पराशरले उपाधि जितेको छ ।

    छात्रतर्फ उपाधिसँगै सत्यवतीले रनिङशिल्ड ट्रफीका साथमा नगद रु दश हजार प्राप्त गरेको छ भने उपविजेता वाराहीले नगद रु पाँच हजार प्राप्त गरेको छ ।

    छात्रातर्फ उपाधिसँगै पराशर माविले रनिङशिल्ड ट्रफीका साथमा नगद रु सात हजार प्राप्त गरेको छ भने उपविजेता वाराहीले नगद रु चार हजार प्राप्त गरेको छ ।

    प्रतियोगितामा राइजिङ प्लेयर छात्रातर्फ सत्यवती माविका गुरास ठकुरी र छात्रतर्फ सत्यवती शुभम घोषित भएका छन् । हाइस्कोरर छात्रातर्फ पराशर माविका सनिषा लामगादे र छात्रतर्फ पराशर माविकै आयुष गुरुङ घोषित भएका छन् ।

    वेष्ट प्लेयरको उपाधि छात्रातर्फ पराशर माविकी नेहा चन्द ठकुरी र छात्रतर्फ सत्यवतीका अजय श्रेष्ठले प्राप्त गर्नुभएको छ । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार माया ऐकेडेमी युनिभर्सले प्राप्त गरेको छ ।

    विजेतालाई पुरस्कार वितरण गर्दै व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले खेलकुद क्षेत्रको प्रबद्र्धनका लागि वडा कार्यालयले सधैं प्रतिबद्ध रहेको बताए। खेल क्षेत्रबाटै नेपाल विश्वमाझ चिनिन सफल भएकाले खेलकुदमा सम्भावना रहेको उल्लेख गरे।

    बास्केटबल खेलमा युवायुवतीको आकर्षण बढाउने उद्धेश्यले क्लवले प्रतियोगिता आयोजना गरेको हो । दमौलीमा केही वर्षयता बास्केटबल खेलमा आकर्षण बढेकाले दक्ष खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने विश्वास गरिएको क्लवका अध्यक्ष रविन पौडेलले जानकारी दिए।

    प्रतियोगितामा छात्रतर्फ सात र छात्रातर्फ तीन विद्यालयको सहभागिता रहेको थियो । छात्रतर्फ सत्यवती मावि, माया एकेडेमी, निर्मल मावि, पराशर कलेज, बाराही आवासीय माध्यमिक विद्यालय, कन्काई ग्लोवल एकेडेमी र व्यास दिव्यज्योति बोर्डिङ स्कूलको सहभागिता रहेको थियो । छात्रातर्फ सत्यवती मावि, पराशर कलेज र बाराही आवासीय माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

    गत वर्ष आयोजित प्रथम अन्तर विद्यालय स्तरीय बास्केटबलको उपाधि छात्रछात्रा दुवैतर्फ सत्यवती माविले जितेको थियो ।