कन्काई ग्लोवल एकेडेमीद्वारा मिर्गौला पीडित बाबुलाई सहयोग, छोरालाई छात्रवृत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कन्काई ग्लोवल एकेडेमीद्वारा मिर्गौला पीडित बाबुलाई सहयोग, छोरालाई छात्रवृत्ति

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । व्यास नगरपालिका-४ स्थित कन्काई ग्लोवल एकेडेमीले मिर्गौला पीडित बाबुलाई आर्थिक सहयोग गर्नुका साथै छोरालाई छात्रवृत्ति प्रदान गरेको छ। एकेडेमीले ऋषिङ-१ निवासी मिर्गौला पीडित सागर थापालाई आर्थिक सहयोग गर्नुका साथै निजका छोरा साजन थापालाई कक्षा ८ देखि १० सम्म पूर्ण छात्रवृत्ति प्रदान गरेको प्रबन्ध निर्देशक मिलन गोदारले जानकारी दिए ।

    साजन ब्राइट भिलेज बोर्डिङ स्कूलमा कक्षा ७ सम्म अध्ययन गर्थे । उक्त बोर्डिङमा कक्षा ७ सम्म मात्रै भएको र निजले कन्काईमा पढ्ने इच्छा जाहेर गरेकाले एकेडेमीले छात्रवृत्तिको व्यवस्था गरेको गोदारले बताए । साजनको बाबुको आफू बाँचुन्जेल छोरो बोर्डिङमा पढेको हेर्ने चाहना थियो । त्यसैक्रममा छोरोको रोजाइमा केजीए पढ्ने इच्छा राखेको ब्राइट भिलेजका प्रिन्सिपल प्रितम थापा मार्फत कन्काई ग्लोवल एकेडेमीका प्रबन्ध निर्देशक मिलन गोदारले जानकारी पाएका थिए ।

    प्रबन्ध निर्देशक गोदारका अनुसार बालबालिकाको पढ्न, लेख्न पाउने अधिकार सुरक्षित तथा सुनिश्चित गर्न गराउन प्रत्येक शैक्षिक संस्थाले आफूले सकेको भूमिका निर्वाह गर्नुपर्छ। साजनको अवस्था र इच्छा थाहा पाउने बित्तिकै केजीएका प्रबन्ध निर्देशक केही शिक्षक र कक्षा ७ का विद्यार्थी भाइबहिनीहरू लिएर साजनलाई भेट्न पुगेका थिए ।

    विद्यालयको तर्फबाट केही र विद्यार्थीहरूले खाजा खर्चबाट बचाएर जम्मा गरेको केही रकम साजनका बिरामी बुबालाई हस्तान्तरण गर्नुका साथै साजनलाई कक्षा १० सम्म पूर्णरूपमा निःशुल्क छात्रवृत्तिमा अध्यापन गराउने गोदारले जानकारी गराएका थिए। मिहीनेती, जिज्ञासु तथा जेहेन्दार थापालाई सहयोग गर्नु आफ्नो विद्यालयको सामाजिक दायित्व भएको र उनलाई गरेको सहयोग मार्फत बालबालिकालाई परोपकारी बन्न प्रेरणा दिन सकिने भएकोले उक्त सहयोग कार्य गरेको प्रबन्ध निर्देशक गोदार बताउँछन् ।

    उनले भने, ‘बालबालिकालाई शैक्षिक रूपमा सबल बनाउनुका साथै उनीहरूमा मानवीय तथा सामाजिक सहयोगको भावना विकास गराउनु प्रत्येक विद्यालयको उद्देश्य हुनुपर्छ । हाम्रो सानो सहयोग र प्रयासले कसैको जीवनमा सकारात्मक परिवर्तन आउनुका साथै उनीहरूको जीवन सफल र सहज बन्छ भने हामीले किन त्यसो नगर्ने त ।’