दमौली । तनहुँको ऑबुखैरेनीबाट निषेधित औषधि सहित तीन जना पक्राउ परेका छन् । ऑबुखैरेनी-४ वेनीटारबाट शनिबार फरक-फरक समयमा तीन जना पक्राउ परेका हुन् ।
पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँचको लागि खटिएको प्रहरी टोलीले मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग २० प ५४९९ नं. को मोटरसाइकललाई जॉच गर्ने क्रममा गोरखा पालुङटार नगरपालिका वडा नं. ८ घर भएका वर्ष २३ को आशिष पाण्डे र १९ वर्षीय आश्विन पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
निजहरुको साथबाट ९०० ट्याब्लेट निषेधित औषधि बरामद गरिएको छ । निजहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी व्यवस्था विभागको निर्णय अनुसार आवश्यक कारवाहीका लागि औषधि व्यवस्था बिभाग बिजुलीवजार पठाइएको छ।
त्यस्तै सोही ठाउँमा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ४३०९ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा माईक्रो बसमा पार्सलको रुपमा नियन्त्रित औषधी ट्रामाडोल लेखिएको ९ पत्तामा जम्मा २७० ट्याब्लेट सहित ऑबुखैरेनी-१ बरादी बस्ने बर्ष २३ को सनिस गुरुङ पक्राउ परेका छन् । निजलाई पनि कारवाहीका लागि औषधि व्यवस्था विभाग पठाइएको छ ।