दमाैली । तनहुँको व्यास नगरपालिका–११ साउनेपानी सामुदायिक वनमा भएको आगलागी नेपाली सेनाको सहयोगमा नियन्त्रणमा आएको छ । रातमाटा इलाकामा आइतबार भएको आगलागी व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को सहयोगमा नियन्त्रणमा लिइएको हो ।
व्यारेकबाट अधिकृतको नेतृत्वमा अग्नि नियन्त्रक सामग्री सहितको खटिएको टोलीले आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको हो । आगलागी भएको खबर पाउनेबित्तिकै गणबाट सेनाको टोली परिचालन भएको थियो । नेपाली सेनाले स्थानीयवासी र प्रहरीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको गणले जनाएकाे छ ।
आगलागी समयमै नियन्त्रणमा आएका कारण भौतिक तथा मानवीय क्षति नभएको र आगलागी नियन्त्रणमा सहयाेग पुर्याएकामा स्थानीयवासीले सेनालाई धन्यवाद दिएका छन् ।