दमौली । मगर सङ्घ स्थापना दिवसका अवसरमा तनहुँका आठ स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । विसं २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार सङ्घको स्थापना भएको दिनलाई मगर सङ्घले स्थापना दिवसको रुपमा मनाउँदै आएका छन् । यही स्थापना दिवसको अवसरमा जिल्लाका आठ स्थानीय तहले सार्वजनिक बिदाको निर्णय गरेका हुन् ।
जिल्लाको शुक्लागण्डकी, भिमाद र भानु नगरपालिका तथा घिरिङ, ऋषिङ, म्याग्दे, देवघाट, बन्दीपुर गाउँपालिकाले बिदा दिएका छन् । व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा भने बिदा छैन ।
मगर दिवसको अवसरमा आज तनहुँमा मगर समुदायले हर्षोल्लासका साथ मगर दिवस मनाउँछन् । मगर समुदायले लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग गर्दै आएका छन् ।
वि.सं. २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीचमा हजारौं मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ गतेलाई सङ्घको स्थापना दिवसको रूपमा मनाउने गरिन्छ ।