म्याग्देमा कृषि मेला : उत्कृष्ट कृषक पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा कृषि मेला : उत्कृष्ट कृषक पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०८०, बिहीबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित जनसेवा सहकारी संस्था लिमिटेडले बिहीबार आयोजना गरेको कृषि प्रदर्शनी मेलामा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको छ । मेलामा हिउँदेबालीतर्फ काउली र वर्षेबालीतर्फ गोलभेडाले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

    कृषकले उत्पादन गरेका सामग्रीको प्रदर्शनी गरिनुका साथै कृषकलाई प्रोत्साहन गर्न पाँचौ कृषि मेला आयोजना गरिएको सहकारीका अध्यक्ष दुर्गाबहादुर अधिकारीले जानकारी दिए। उहाँले कृषकलाई कृषि पेशामा प्रोत्साहन गर्नका लागि सहकारीले विगत पाँच वर्षदेखि मेला आयोजना गर्दै आएको बताए।

    प्रदर्शनीमा हिउँदेबालीतर्फ काउली उत्पादन गर्ने राजेश श्रेष्ठ प्रथम भएका छन् । बन्दा उत्पादन गर्ने आनन्दराज काफ्ले द्वितीय, लसुन उत्पादन गर्ने राजकुमार श्रेष्ठ तृतीय र केराउ उत्पादन गर्ने श्रीमाया थापा सान्त्वना भएका छन् ।

    वर्षे बालीतर्फ गोलभेडा उत्पादन गर्ने उषा थापा प्रथम, फर्सी उत्पादन गर्ने ज्योतिबहादुर थापा द्वितीय, फर्सी उत्पादन गर्ने शोभा घिमिरे तृतीय र कुभिन्डो उत्पादन गर्ने मिना गुरुङ सान्त्वना भएका छन् ।

    जरे बालीतर्फ आलु उत्पादन गर्ने सन्दिप घिमिरे प्रथम, मुला उत्पादन गर्ने दुर्गादेवी वाग्ले द्वितीय, पिँडालु उत्पादन गर्ने रेणुका खनाल तृतीय र तरुल उत्पादन गर्ने कमल थापा सान्त्वना भएका छन् ।

    फलफूलतर्फ केरा उत्पादन गर्ने डिलबहादुर बराल प्रथम, केरा उत्पादन गर्ने केशवराज वाग्ले द्वितीय, मेवा उत्पादन गर्ने कमला थापा तृतीय र कागती उत्पादन गर्ने सीता घिमिरे सान्त्वना भएका छन् ।

    विविधतर्फ उखु उत्पादन गर्ने कविर एण्ड कविन कृषि फर्म प्रथम, तोरी उत्पादन गर्ने पूजा थापा द्वितीय, अदुवा उत्पादन गर्ने रोशनी मगर तृतीय र भुइँ स्याउ उत्पादन गर्ने भद्रबहादुर कुमाल सान्त्वना भएका छन् ।

    प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु एक हजार, रु सात सय, रु पाँच सय र रु तीन सय नगद पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा हलो जुवा प्रदर्शन गर्ने किसानलाई रु एक हजार प्रोत्साहन रकम प्रदान गरिएको छ । प्रदर्शनीमा दुई सय १२ जना किसानको सहभागिता रहेको सहकारीका सचिव जितराज रानाले जानकारी दिए ।

    कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषिलाई गाउँपालिकाले प्राथमिकतामा राखेको जनाउँदै कृषकलाई प्रोत्साहनका लागि विविध कार्यक्रम सञ्चालन गरिने बताए।