वर्तमान सरकार समृद्धिको बाटोमा अगाडी बढेको छ : महासचिव गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वर्तमान सरकार समृद्धिको बाटोमा अगाडी बढेको छ : महासचिव गुरुङ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । नेकपा (माओवादी) केन्द्रका महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकार समृद्धिको बाटोमा अगाडी बढेको बताएका छन्। जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँले शनिबार दमौलीमा आयोजना गरेको अमरगाथा पुस्तक विमोचन एवं सहिद सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मुलुकमा आर्थिक समृद्धि हासिल हुने बताए।

    प्रधानमन्त्रीको कुशल नेतृत्वका कारण मुलुक विकासको बाटोमा हिँडेकाले सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको महासचिव गुरुङले बताए। जनजीविकाका सवाल, आर्थिक समृद्धि, सुशासन कायम, भ्रष्टाचार अन्त्यका लागि सरकार क्रियाशील रहेको बताउँदै उनले भने, “यी सबै चुनौतिलाई पूरा गर्न प्रचण्डको नेतृत्वमा सरकार लागिपरेको छ । यो संयुक्त सरकारले आर्थिक चुनौतिको सामना गर्दै अगाडी बढिरहेको छ ।”

    महासचिव गुरुङले मुलुकमा आउने सङ्कट र चुनौति समाधानका लागि सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेको चर्चा गरे। उनले भने, “सबै दलबीच राष्ट्रिय एकता कायम गर्न नेकपा माओवादी केन्द्रले अगुवाई भूमिका खेलिरहेको छ ।” समाजवादको दिशामा अगाडी बढ्दै देशमा समृद्धि हासिल गर्न मुख्य दलबीच सहमति जरुरी रहेको उनकाे भनाइ थियो । एउटा पार्टीले अर्को पार्टीलाई निस्तेज गर्ने प्रवृत्तिले मुलुक विकास नहुने भएकाले सबैलाई मिलाएर लैजानुको विकल्प नभएको उनकाे भनाइ थियो ।

    सहिदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौति भएको महासचिव गुरुङको भनाइ थियो । सहिदको सपना साकार पार्नु मुख्य कार्यभार रहेकाले त्यसतर्फ सरकार र पार्टीको ध्यान गएको उनले बताए । उनले भने “अहिलेको अवस्थामा समाजवादी क्रान्तिको विकल्प छैन, समाजवादी क्रान्ति सफल बनाउन सक्यौ भने मात्र सहिद र बेपत्ता योद्धाहरुको सपना साकार हुन सक्छ ।” प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्ति पूरा गर्ने बाटोमा अगाडी बढ्नुको विकल्प नभएको उनकाे भनाइ थियो ।

    अहिले मुख्यतयः प्राप्त उपलब्धीमाथि विभिन्न प्रकारका चुनौति पैदा भएको बताउँदै महासचिव गुरुङले गणतन्त्र विस्थापित गरी राजतन्त्र स्थापना गर्ने तत्व सलबलाएको आरोप लगाए । उनले भने “सङ्घीयता, समानुपातिक उपलब्धीलाई विस्थापित गरी निरङ्कुशता ल्याउने प्रवृत्ति हावी छ, त्यस्ता त्यस्ता प्रवृत्तिको अन्त्य गरिनुपर्छ । सार्वभौमसत्ता मुलुकको अस्तित्व समाप्त गरी मुलुकमा अस्थिरता निम्त्याउने षड्यन्त्र भइरहेकाले त्यसतर्फ चनाखो हुनुपर्छ ।”