दूध किसानले बक्यौता पाउने, आन्दोलन स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दूध किसानले बक्यौता पाउने, आन्दोलन स्थगित

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८०, आईतवार

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल समेतको उपस्थितिमा दुग्ध विकास संस्थान, डेरी उद्योग र दुग्ध किसानका प्रतिनिधिहरुबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै किसानहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

    शनिबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा किसान प्रतिनिधिहरुसहित भएको वार्तामा किसानहरुलाई उद्योगीहरुले २१ चैत २०८० सम्म सबै बक्यौता तिरिसक्ने लगायतका सहमति भएको छ । ‘दुग्ध उत्पादक कृषकलाई दूध बिक्री गरेबाफत पाउनुपर्ने रकमलाई निरन्तरता दिई पुस मसान्तसम्मको रुकम भुक्तानी प्रत्येक उद्योगले २१ चैत ०८० सम्म गरिसक्ने,’ सहमति पत्रको पहिलो बुँदामा लेखिएको छ ।

    दूध बेचेको पैसा नपाएपछि किसानहरु आन्दोलित थिए । उनीहरुले आन्दोलनलाई सोमबारदेखि काठमाडौंमा केन्दि्रत गर्ने घोषणा गरेका थिए । विभिन्न जिल्लामा दूध पोखेर विरोध जनाउँदै आएका किसानहरुमाथि परेको मर्काको विषय सांसदहरुले प्रतिनिधि सभाको बैठकमा समेत राख्ने गरेका थिए ।

    वार्तामा सहभागी केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए । यदि दुग्ध किसानहरुको बक्यौता तिर्न आनाकानी गरे फेरि आन्दोलन सुरु गर्ने उनले चेतावनी दिए ।