घुम्ती शिविरमार्फत् बीमाको प्रचारप्रसार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घुम्ती शिविरमार्फत् बीमाको प्रचारप्रसार

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०८०, सोमबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत् बीमाको प्रचारप्रसार गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले कृषकलाई बीमाको महत्व बुझाउने उद्धेश्यसहित घुम्ती शिविरबाट यसको प्रचारप्रसार गरेको हो ।

    आकस्मिक रोगको क्षति न्यूनिकरण गर्न पशु वस्तुको बीमा गर्न कृषकलाई प्रोत्साहन गरिने पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए। पशुवस्तुको बीमाका लागि कृषकले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखामार्फत् पुनः कृषकलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षमा रहेको उनकाे भनाइ छ । उनले भने, “पशु बीमा गरेपछि पशुको क्षति भएमा कृषकलाई राहत पुग्नेछ, बीमा निःशुल्क भएकाले यसको प्रचारप्रसारमा जोड दिएका छौ ।”

    पशु सेवा शाखाले घाँसमा आधारित पशुपालनलाई समेत जोड दिएको छ । पशुपालनको ७० प्रतिशत लागत आहारामा खर्च हुने हुँदा मौसम अनुसारको जै, सुपर नेपियर, मकेचरी वर्षिम लगायतका घाँस खेती गरी घाँसमा आधारित पशु पालनबाट उत्पादन लागत घटाउँदै आम्दानी बढाउन कृषकलाई अनुरोध गरिएको शाहले बताए।

    उनका अनुसार घुम्ती शिविरमा आकस्मिक तथा महामारीजन्य रोग रोकथाम तथा न्यूनिकरणका लागि खोरेत, भ्यागुते, चरचरे, पिपिआर, स्वाइन फिबर र कुकुर बिरालोमा रेबिज विरुद्धको खोप लगाइनेछ । उनले भने, “रेबिज रोग नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८०÷८१ भरी नै कुकुर बिरालोमा रेबिज विरुद्धको खोप निःशुल्क पशु सेवा शाखाबाट प्रदान हुँदै आएको छ ।”