दमौली । सहरी विकास मन्त्रालयमार्फत तनहुँको व्यास नगरपालिका–५ पराशर क्षेत्रमा निर्माण सम्पन्न भएको व्यास पराशर उद्यान (पार्क) नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले निर्माण गरेको उक्त पार्क सोमबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको उपस्थितिमा आयोजना कार्यान्वयन एकाइ प्रमुख सरोज पौडेलले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीलाई उक्त पार्कको कागजपत्र हस्तान्तरण गरेका हुन् ।
उक्त ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित विसं २०७६ वैशाखमा पार्क निर्माणको काम थालनी भएको थियो । उक्त पार्कको लागत रु दुई करोड ९६ लाख ७० हजार दुई सय आठ रहेको छ । लामो समयदेखि पार्क स्थानीय तहलाई हस्तान्तरण नहुँदा बेवारिसे अवस्थामा पुगेको थियो ।
नगरपालिकालाई पार्क हस्तान्तरण भएसँगै नगरपालिकाले अब यसको संरक्षणमा ध्यान दिने नगरप्रमुख न्यौपानेले जानकारी दिए । संरक्षणको अभावमा पार्कभित्रका संरचना भत्किन थालेका थिए । प्राविधिक कारणले पार्क हस्तान्तरण गर्न ढिलाइ भएको इकाइ प्रमुख पौडेलले बताए ।
पार्कभित्र वनभोजस्थल, पौडीपोखरी, माछापोखरी, मत्स्यकन्याको सालिक, बास्केटबल कोर्ट, प्रतिक्षालय, पार्किङस्थललगायतका संरचना निर्माण गरिएको छ । व्यास र पराशर ऋषिको जन्म एवं तपोभूमिमा निर्माण भएको पार्कलाई पर्यटक आकर्षणको केन्द्र बनाइने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।