तनहुँको बुल्दीखोलामा पाँच करोडको लागतमा पक्की पुल बन्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँको बुल्दीखोलामा पाँच करोडको लागतमा पक्की पुल बन्दै

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको व्यास नगरपालिका–२ र १ करङकाठ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माण हुने भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । व्यास नगरपालिकाले धादिङको ज्वालामुखी कन्स्ट्रक्सनसँग बुल्दीखोलामा पुल निर्माणका लागि बुधबार सम्झौता गरेको हो । बुल्दीखोलामा पुल निर्माणका लागि गत पुस ३ गते विद्युतीय बोलपत्र आव्हान भएको थियो ।

    अनलाइनमार्फत पेस भएका तीन फर्मका विद्युतीय बोलपत्रमध्ये नगरपालिकाको स्वीकृत विभागीय लागत अनुमान मूल्यअभिवृद्धि कर र कन्टिजेन्सी बाहेक रु पाँच करोड ८२ लाख ४० हजार नौ सय ४९ मा बोलपत्र दर्ता गराएको ज्वालामुखी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। निर्माण कम्पनीका सञ्चालक धर्मराज लोहनी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीबीच ठेक्का सम्झौता भएको हो ।

    पुल निर्माण १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तोकिएको समयमा निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको बताए ।

    पक्की पुल निर्माण गर्ने स्थानमा हाल ह्यूम पाइप कल्र्भट राखेर यातायात सञ्चालन भइरहेको छ । वर्षातको समयमा बुल्दीखोलामा बाढी आउँदा उक्त कल्भर्टले पानीको बहावलाई रोक्दा वरपरको स्थानमा डुबान हुने गरेको छ । जसका कारण आसपासका घर जोखिममा परेको र बसपार्क जान समेत समस्या हुँदै आएको छ । पुल निर्माणपश्चात् उक्त समस्या समाधान हुने र व्यवस्थित रुपमा बसपार्क सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ ।