मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०८०, सोमबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४ स्थित मर्स्याङ्दीमा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो ।

    पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा र्‍याफ्टिङ सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । “मर्स्याङ्दीमा व्यावसायिक रुपमा र्‍याफ्टिङ सञ्चालन गर्नका लागि विज्ञ बोलाएर सम्भाव्यता अध्ययन गर्दा सफल भएको छ”, उनले भने, “अब यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्नेतर्फ अगाडि बढ्छौँ ।”

    अध्यक्ष चुमानका अनुसार एक्सप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा र्‍याफ्टिङको अध्ययन गरिएको हो । प्रशिक्षक थापाले मर्स्याङ्दी नदी र्‍याफ्टिङका लागि उपयुक्त रहेको अध्ययनका क्रममा पाइएको जानकारी दिए । परीक्षणका क्रममा गाउँपालिकाका अध्यक्ष चुमान, वडाध्यक्षलगायत जनप्रतिनिधिले र्‍याफ्टिङ गरेका थिए ।

    गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको समेत तयारी गरेको छ । वडा नं १ र २ स्थित तल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट तथा पर्या–पर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको अध्यक्ष चुमालको भनाइ छ । गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानले बताए । “जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्न सक्छ । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेलाई यहाँ रोक्न सकिन्छ”, उनले भने ।