म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन निर्माण

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८०, शुक्रबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो ।

    गाउँपालिकाले शुभसाइतको अवसर पारी बिहीबारबाट सेवा शुभारम्भ गरेको छ । सामान्य पूजापाठ गरी कार्यालयको सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले खबरपुञ्जलाई जानकारी दिए ।

    नवनिर्मित भवनमा सेवा सुरु गरिएपनि नियमित सेवा भने हाल भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयबाट हुने उनको भनाइ छ । आगामी वैशाख ३ गते पछि मात्र गाउँपालिकाको सम्पूर्ण सेवा नयाँ भवनबाट प्रवाह गरिने अधिकारीले जानकारी दिए ।

    म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा रु छ करोडको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवन निर्माणको काम विसं २०७७ असोजबाट सुरु भएको थियो । दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएपनि विविध कारणवश काममा ढिलाइ भएको उनको भनाइ छ ।

    सात वडा रहेको गाउँपालिकाका सबै वडा कार्यालयका आफ्नै भवन छन् । अधिकारीले भने, “भाडाको घरमा गाउँपालिका सञ्चालन हुँदा साँघुरो ठाउँ भएकाले केही असजिला थियो । नयाँ भवनबाट सेवा प्रवाह भएपछि सहज हुन्छ ।”

    विसं २०७६ फागुन २७ गतेको गाउँसभाको निर्णय बमोजिम गाउँपालिकाको केन्द्र सहित भवन निर्माण गर्ने गरी म्याग्दे गाउँपालिका–४ नारिङ्गेलाई निर्धारण गरिएको थियो । भवन निर्माणका लागि लालपूर्जाभित्रको कित्ता नं ५२ क्षेत्रफल एक रोपनी एक आना तीन पैसा तीन दाम जग्गा निःशुल्क प्राप्त भएको थियो भने ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजनिक रहेको छ ।

    विसं २०७७ असोज ५ गतेको कार्यपालिको बैठकले गाउँपालिकाको भवन निर्माणका लागि माटो परीक्षणका लागि कटेरो इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मा दिएको थियो । भवन निर्माणको डिपिआर बनाउने जिम्मा भने रेस इन्जिनियरिङले पाएको थियो । कटेरो इन्जिनियरिङले गरेको माटो परीक्षण अनुसार उक्त ठाउँमा चार तलासम्म भवन निर्माण हुन सक्ने देखिएको थियो ।

    म्याग्देको भवन निर्माण भएसँगै दश स्थानीय तहमध्ये नौ स्थानीय तहको आफ्नै भवन भएको छ । देवघाट गाउँपालिकाको भवन हालै निर्माण सम्पन्न भइ आगामी वैशाख १ गते उद्घाटन हुँदैछ । भानु नगरपालिका भने भाडाको घरमा सञ्चालित छ ।

    व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाको आफ्नै भवन छ ।