माथिल्लो जिम्मेवारीमा बसेका र स्थानीय जनताको मेहेनत कुनबाट काम सम्पन्न भईरहेको छ मूल्यांकन गर्ने बेला भयो : राष्ट्रपति पाैडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माथिल्लो जिम्मेवारीमा बसेका र स्थानीय जनताको मेहेनत कुनबाट काम सम्पन्न भईरहेको छ मूल्यांकन गर्ने बेला भयो : राष्ट्रपति पाैडेल

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०८०, शनिबार

    दमाैली । राष्ट्रपति रामचन्द्र पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम  सम्पन्न भएको छ भन्ने कुराको अब  मूल्यांकन गर्नुपर्ने बेला भएको बताएका छन् । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशुली नदी पुलको शनिबार उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

    “ सरकारले धेरै योजनामा धेरै ठाउँमा धेरै बजेट राखेको छ, तर ती अलपत्र छन्, तर जहाँ स्थानीय जनताले मेहेनत गरेका छन्, त्यहाँ मात्रै काम सम्पन्न भएका छन्”, उनले भने, “त्यसैले अब मूल्यांकन हुनुपर्छ कि  माथिल्लो जिम्मेवारीमा  बसेकाले काम सम्पन्न गरेका छन् की स्थानीय जनताको मेहेनतबाट मात्र काम सम्पन्न भएका  छन् । ”

    राष्ट्रपति पौडेलले अब भोटको र छाडा राजनीति गरेर जथाभावी सार्वजनिक जग्गा बाड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै सार्वजनिक जग्गालाई पार्क र बगैचा बनाएर पर्यटक आकर्षित गर्न सम्बन्धित निकायलाई आग्रह गरे। राष्ट्रपति पौडेलले नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। उनले लोकतन्त्रप्राप्तीसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको वृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवम् भरोसा जगाएको बताए ।

    “केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न हामी सबै एक भएर जुटनुको विकल्प छैन”, उनले भने ।  देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास हो परन्तु त्यसको लागि पहिलो खाँचो सुशासन नै भएको उनले स्पष्ट पारे ।

    “म त्यही एजेण्डामा आज पनि उभिएको छु, राष्ट्रपतिमा निर्वाचित भएपछि मैले भनेको पनि छु म राजनीतिमा हात हाल्दिन र विकासबाट टाढा भाग्दिन, अर्थात देश विकास नै मेरो अभिष्ट र अभिभावकीय भूमिका र चाहना हो”, राष्ट्रपति पौडेलले भने।

    ठूलो त्याग, बलिदान र संघर्षबाट हामीले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै उनले आत्मनिर्भर नेपाली र समृद्धिसहित विकसित आधुनिक नेपाल निर्माण नै संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य भएको बताए।

     उत्पादन, रोजगारी, उद्योगधन्दासहितका आर्थिक क्रियाकलाप र निर्यातमुखी अर्थतन्त्रको विकास समयको माग भएको उनकाे भनाइ थियो । “यस क्षेत्रको  विकासका लागि यो पुल कोशेढुङगा सावित हुनसक्छ भन्ने मलाई लाग्छ, किनभने यहीँबाट यस क्षेत्रको व्यवसायीकरणसहित तीव्र रुपमा कृषि उत्पादन अनि त्यसको बजारीकरण, ऊर्जा र पर्यटन क्षेत्रको विकास र विस्तार तथा शालीग्राममार्गलाई कालीगण्डकी कोरीडोर हुँदै उत्तर दक्षिण जोड्ने एउटा कडी बनाउन सकिने मैले देखेको छु”, राष्ट्रपति पौडेलले भने ।

    मुलुककै महत्वपूर्ण केन्द्र मानिएको चितवन, नवलपरासी र तनहुँको संगमस्थल पवित्र तपोभूमि देवघाटमा उपस्थित भएर यहाँ क्षेत्रका वासिन्दाहरुसँग भेटघाट गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले यहाँसम्म आईपुग्दा गर्नुपरेका संघर्ष र अनेक अवरोधहरू तपाईहरूबाट छिपेको छैन भन्ने उल्लेख गरे ।

    राष्ट्रपति पौडेलले यति पवित्र भूमिमा वर्षौदेखि एउटा झोलुङगे पुलको भरमा यस क्षेत्रका वासिन्दा र भक्तजनले आवतजावत गर्नुपर्ने कष्टकर अवस्थाकोे पुल निर्माणसँगै अन्त्य भएको बताए। दशक लामो कठिन प्रयत्नपछि बन्दै भत्कदै बनेको यो केवल एउटा पुल मात्र नभएर यस सेरोफेरोको कृषि, पर्यटन, व्यापार–व्यवसायलगायत विकासको बलियो जग खडा हुनेछ भन्ने उनले विश्वास व्यक्त गरे ।