भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न रास्वपाको पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न रास्वपाको पहल

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०८०, शनिबार

    दमाैली । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहल गर्ने निर्णय गरेको छ । रास्वपा तनहुँ क्षेत्र नम्बर २ को शनिबार बसेको क्षेत्रीय समितिको बैठकले भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न पहल गर्ने निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय तनहुँ सदरमुकाममा हुँदा सदरमुकामबाट टाढा रहेका दक्षिण पश्चिम भेगका सर्वसाधारणलाई सेवा लिन आउन समस्या भइरहेकाले इलाका प्रशासन कार्यालयको आवश्यकता खड्किएको रास्वपा क्षेत्रीय सभापति डा. शेषरमण न्यौपानेले बताए ।

    घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका केही वडाका वासिन्दालाई सहज रुपमा सेवा प्रवाह गर्न भिमादमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आग्रह गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

    न्यौपानेले भने, “स्थानीय प्रशासनबाट सार्वजनिक सेवामा सरल पहुँच स्थापना गर्न आवश्यक भएकाले यस भन्दा अगाडि पनि सामान्य पहलहरू नभएका होइनन् । तर कार्यान्वयन भने हुन सकेको छैन । भौगोलिक विकटताका कारण त्यस भेगका जनतालाई नागरिकता र राहदानी जस्तो सेवा लिन पनि जिल्ला सदरमुकाम दमौली जानुपर्ने र कतिपय अवस्थामा बास बस्नुपर्ने अवस्था रहेको छ ।”

    यसका लागि प्रारम्भिक चरणमा जिल्ला प्रशासन कार्यालय तनहुँ मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने निर्णय भएको क्षेत्रीय सचिव सुन्दर बस्यालले जानकारी दिए ।

    बैठकमा रास्वपा म्याग्दे संयोजक मनोज अधिकारी, शुक्लागण्डकी सभापति विजय जोशी, भिमाद सभापति हरि लम्साल, घिरिङ सभापति तीर्थ ढकाल, ऋषिङ सभापति रामु नेपाली लगायतको उपस्थिति थियो ।