दमौली । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । बढ्दो जनसङ्ख्या र सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नम्बर २ को भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो ।
रास्वपा तनहुँ क्षेत्र नम्बर २ ले आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै भिमादमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँ सदरमुकाममा हुँदा सदरमुकामबाट टाढा रहेका दक्षिण पश्चिम भेगका सर्वसाधारणलाई सेवा लिन आउन समस्या भइरहेकाले इलाका प्रशासन कार्यालयको आवश्यकता खड्किएको रास्वपा क्षेत्रीय सचिव सुन्दर बस्यालले बताए ।
घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका केही वडाका वासिन्दालाई सहज रुपमा सेवा प्रवाह गर्न भिमादमा इलाका प्रशासन कार्यालय आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, “स्थानीय प्रशासनबाट सार्वजनिक सेवामा सरल पहुँच स्थापना गर्न आवश्यक भएकाले यस भन्दा अगाडि पनि सामान्य पहलहरू नभएका होइनन् । तर कार्यान्वयन भने हुन सकेको छैन । भौगोलिक विकटताका कारण त्यस भेगका जनतालाई नागरिकता र राहदानी जस्तो सेवा लिन पनि जिल्ला सदरमुकाम दमौली जानुपर्ने र कतिपय अवस्थामा बास बस्नुपर्ने अवस्था रहेको छ ।”
प्रमुख जिल्ला अधिकारी गौतमले जिल्लाको भूगोल र अवस्थाका कारण जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक रहेको बताए ।
हाल सदरमुकाम दमौलीमा रहेको प्रशासन कार्यालयले जिल्लाका दश पालिकाका सेवाग्राहीलाई सेवा दिइरहेको छ । क्षेत्र नम्बर २ अन्तर्गतका भिमादका नौ, ऋषिङका चार, शुक्लागण्डकीका बाह्र, घिरिङका पाँच, म्याग्देका एक वडाका वासिन्दालाई दमौली आउनुभन्दा इलाका प्रशासन कार्यालय भिमादमा स्थापना भएको खण्डमा उतै सेवा लिन सहज हुन्छ ।