दुलेगाैँडा–लिलाचोक खण्ड कालोपत्र गरिँदै, निर्माण कम्पनीसँग सम्झाैता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुलेगाैँडा–लिलाचोक खण्ड कालोपत्र गरिँदै, निर्माण कम्पनीसँग सम्झाैता

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८०, सोमबार

    दमाैली । विश्व बैंकको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौँडा लामागाउँ मोटरमार्गअन्तर्गत दुलेगाैँडा–लिलाचोक खण्ड कालोपत्रको तयारी गरिएको छ । नगरपालिकाको हालसम्मकै ठूलो आयोजनाअन्तर्गत रहेको उक्त खण्ड कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले सम्झौता गरेको छ ।

    विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत उक्त मोटरमार्गको ७.१ किलोमिटर दूरी कालोपत्रका लागि बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता गरिएको नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले खबरपुञ्जलाई जानकारी दिए ।

    उनका अनुसार उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ । भट्टराईले भने, “१५ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । नगरपालिकाले यो सडकलाई नगर गौरवको आयोजनाको रुपमा छनोट गरेको थियो ।”

    उनका अनुसार शुक्लागण्डकी–४ दुलेगौँडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी–८, ९ र १२ वडालाई जोड्छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । इजिनियर भट्टराईले भने, “उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ । अन्य ठाउँमा नालासहितको कालोपत्र हुनेछ ।”

    दुलेगौँडास्थित बिपीचोक, हेल्थपोष्ट चोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । यहाँ ५.५ मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक/एक मिटरको नाला निर्माण हुने उनले जानकारी दिए ।

    शुक्लागण्डकी–४ दुलेगौँडाबाट वडा नं १२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । कच्ची सडकका कारण हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ । सडक कालोपत्र भएपछि सहज रुपमा आवतजावत गर्न सकिने भन्दै समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरिएको नगर उपप्रमुख खुमबहादुर विकले बताए ।