बन्दीपुर हिल वैशाख १ गतेदेखि आंशिक सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर हिल वैशाख १ गतेदेखि आंशिक सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०८०, मंगलवार

    दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण भइरहेको पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना (बन्दीपुर हिल) नयाँ वर्षको अवसर पारी वैशाख १ गतेदेखि आंशिक सञ्चालनमा आउने भएको छ ।

    परियोजना अन्तर्गतका बटम स्टेशनका बगैंचा, पार्क र रेष्टुरेण्ट नयाँ वर्षको दिन देखि सर्वसाधारणका लागि व्यावसायिक रुपमा खुल्ला गर्न लागिएको हो । ५६ रोपनी क्षेत्रफलमा फैलिएको आकर्षक यो स्टेशन विधिवत रुपमा वास्तुपूजा गरि शुभारम्भ गर्न लागिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका उपाध्यक्ष किरण पोख्रेलले जानकारी दिए ।

    रु ८६ करोडमा निर्माण भएको बटम स्टेशनको आकर्षक उद्यान, रेष्टुरेण्ट, जिपलाइन, स्काई साइक्लििङ लगायतका सेवा र जङ्गली जनावरको म्युजियम यस उद्यानभित्र रहेको छ । यस उद्यानमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति रु दुई सय, मोटरसाइकल रु तीन सय, ट्याक्सी रु पाँच सय, माइक्रोबसका लागि रु एक हजार र बसका लागि रु एक हजार पाँचसयको टिकट काट्नुपर्ने पोख्रेलले बताए ।

    टिकट बराबर नै अफरमा रेष्टुरेण्टको सुविधा निःशुल्क लिन सकिने व्यवस्था कम्पनीले गरेको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्राण्ड बन्दीपुर हिल अन्तर्गतको केबलकार सेवा समेत वैशाख १ गतेदेखि सञ्चालन हुनेछ । तर उक्त दिन सर्वसाधारणका लागि खुल्ला नगरी आन्तरिक कार्यका लागि प्रयोग गरिने पोख्रेलले बताए ।

    बन्दीपुर हिल अन्तर्गत बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले रु ३ अर्व ५८ करोड, बन्दीपुर स्काई वाक एण्ड रिक्रियशन प्रालिले रु एक अर्व ५३ करोड, बन्दीपुर बैंङ्क्विट एण्ड इभेन्ट प्रालिले रु ३७ करोड, सिद्ध गुफा रोपवेज प्रालिले रु ८७ करोड र मिनरलस् वाटर उद्योगले रु चार करोड गरी रु छ अर्ब ३९ करोड लगानी गरेको छ ।

    सम्पूर्ण परियोजना बनेर व्यावसायिक सञ्चालनमा आउनका लागि आगामी दुई वर्ष लाग्ने कम्पनीका वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिए ।