मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०८०, बुधबार

    दमौली। आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।

    मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो ।

    गाउँपालिकाले मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी उक्त कम्पनीसँग सम्झौता गरिसकेको छ । सो जलाशयमा तत्काल रु एक करोडको लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले बताए ।

    मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ । जलाशयमा नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ ।

    जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अल्कादेवी मन्दिर पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष चुमानको भनाइ छ । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनले विश्वास व्यक्त गरे ।

    कम्पनीले थप रु तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु प्वाइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितको संरचनाहरू बनाउने योजना छ । यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सो कम्पनीका सञ्चालक ढकालले जानकारी दिए ।

    मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले छ देखि आठ मिनेटसम्म मोटरबोटमा सयर गर्न प्रतिव्यक्ति रु दुई ५०, दशदेखि १२ मिनेटसम्मका लागि प्रतिव्यक्ति रु पाँच सय र १५ देखि २० मिनेटसम्मका लागि प्रतिव्यक्ति रु एक हजार ताकिएको छ ।