बुल्दी–चुँदीखोलामा वृहत सरसफाई अभियान, धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुल्दी–चुँदीखोलामा वृहत सरसफाई अभियान, धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कार

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८१, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिकास्थित बुल्दीखोला र भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिकाको सीमानास्थित चुँदीखोलामा वृहत सरसफाई अभियान सञ्चालन गरिने भएको छ । व्यास नगरपालिका–४ दमौली निवासी युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा बुल्दी–चुँदीखोलामा वृहत सरसफाई अभियान गर्न लागिएको हो ।

    बुल्दी र चुँदीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्धेश्यसहित वृहत सरसफाई अभियान सञ्चालन गर्न लागिएको गफ्फारले बताए । उनले भने “भावी पुस्ताका लागि दुवै खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । दुवै खोलाको अवस्था देखेर सरसफाई अभियान सञ्चालन गर्ने जमर्को गरेको छु ।”

    बुल्दीखोलामा वैशाख २९ गते र चुँदीखोलामा जेठ ५ गते सरसफाई अभियान सञ्चालन गरिने उहाँले जानकारी दिए । उनले भने, “यसलाई बचाउन सकिए भने भविष्यमा बुल्दीखोला र चुँदीखोलाको अस्तित्व सङ्कटमा पर्नेछ । बुल्दी र चुँदीखोला थियो रे भनेर पढ्नुपर्ने अवस्था आउन सक्छ ।”

    उनका अनुसार वृहत सरसफाई अभियानका क्रममा धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कारको व्यवस्था गरिनेछ । धेरै फोहर सङ्कलन गर्नेमध्ये प्रथम हुनेलाई रु दश हजार र द्वितीय हुनेलाई नगद रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । उनले भने, “सङ्कलित फोहर जोखेर धेरै फोहर जम्मा गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।”

    अभियानका लागि हरेक टोल र क्लवसँग समन्वय गरिएको बताउँदै उनले एउटा टोलीमा १५ जना सहभागी हुन सक्ने जानकारी दिए । उनले भने, “सरसफाई अभियानमा टोल, विद्यालय, क्याम्पस, युवा क्लवसँग सहकार्य गर्नेछु । सरसफाई अभियानलाई मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक बनाउने प्रयास गरिएको छ ।”

    बुल्दी र चुँदीखोला सरसफाई अभियानलाई निरन्तरता दिने उनकाे भनाइ छ । प्रतियोगितात्मक रुपमा वार्षिक रुपमा एकपटक मात्रै अभियान सञ्चालन गरिने र त्यसपछिका हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा सरसफाई अभियान हुने उनले जानकारी दिए । उनले भने, “जबसम्म बुल्दी र चुँदीखोला कञ्चन हुँदैन, तबसम्म सरसफाई अभियान जारी रहनेछ ।”

    बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उनले भने, “महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गाढुङ्गामा देवताको बास छ । तर आज यसको अवस्था देख्दा मन खिन्न हुन्छ ।”

    पत्रकार सम्मेलनमा व्यास नगरपालिकाका पूर्व प्रवक्ता एवं वडा नम्बर ५ का निवर्तमान अध्यक्ष माेहनकुमार श्रेष्ठ, तनहुँ उद्याेग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष कुमार मल्ल लगायत सहभागी थिए ।