शुक्लागण्डकीका जनप्रतिनिधि छाेराछाेरीलाई सरकारी विद्यालयमा भर्ना गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका जनप्रतिनिधि छाेराछाेरीलाई सरकारी विद्यालयमा भर्ना गर्दै

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८१, शनिबार

    दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले छोरा र भतिजलाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन । उपप्रमुख विकले छोरा सुप्रिम विकलाई खैरेनीटारस्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा कक्षा पाँचमा भर्ना गराएका हुन्।

    त्यस्तै भतिज कृशुलाई पनि सोही विद्यालयको कक्षा पाँचमा भर्ना गराएको उपप्रमुख विकले बताए । उनीहरु यसअघि अरनिको बोर्डिङ स्कूलमा अध्ययनरत थिए ।

    नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका सन्ततिलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्ने निर्णय गरेकाले सो निर्णयलाई सहयोग गर्न आफूले छोरा र भतिजलाई बोर्डिङ स्कूलबाट सरकारीमा स्थानान्तरण गरेको उपप्रमुख विकले खबरपुञ्जलाई बताए । उनले भने, “निर्णय गरेर मात्र भएन यसको सही कार्यान्वयन हुनुपर्छ, नगरपालिकाको निर्णय कार्यान्वयन गर्न अरुलाई दबाब होस् भनेर मैले यो निर्णय कार्यान्वयन गरेको हूँ ।”

    नगरपालिकाले शैक्षिक वर्ष २०८१ लाई शैक्षिक गुणस्तर सुधार वर्षका रुपमा घोषणा गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा शैक्षिक शत्र २०८१ बाट आधारभूत तहको शिक्षा अनिवार्य तथा निःशुल्क गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्णराज पण्डितले बताए ।

    त्यस्तै सञ्चालित कक्षा, विद्यार्थी सङ्ख्या, विषयगत दरबन्दीको उपलब्धता तथा भौगोलिक अवस्थाका आधारमा विद्यालयहरुलाई शैक्षिक शत्र २०८१ बाट लागु हुने गरी समायोजन तथा एकीकरण गर्ने र शिक्षक दरबन्दी मिलानलाई कार्यान्वयनमा ल्याउने निर्णय गरिएको पण्डितको भनाइ छ ।

    उनले भने “शैक्षिक गुणस्तर र सुशासन सम्बद्र्धनका लागि सघन विद्यालय अनुगमन तथा सुपरिवेक्षणलाई सूचकका आधारमा वैज्ञानिक बनाउँदै नगर कार्यपालिकाका सदस्यहरुले नियमित विद्यालय अनुगमन गरी नगर कार्यपालिकामा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।”