


तनहुँ, १२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट इन्जिनियर हरिदत्त पौडेलले महाधिवेशन प्रतिनिधिमा खस आर्यमा उम्मेदवारी प्रस्तुत गरेका छन्।
इन्जिनियरिङ क्षेत्र तथा सार्वजनिक सेवाबाट हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण, सुशासन र विकासका सवालसँग जोड्ने प्रतिबद्धतासहित पौडेल महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएका हुन्।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
पौडेलले खानेपानी, पूर्वाधार, स्थानीय विकास र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन्। “अनुभवलाई केवल पेशामा सीमित नराखी पार्टीको नीति, संगठन र जनताको आवश्यकतासँग जोड्नुपर्छ” भन्ने धारणा अघि सार्दै उनले पार्टीभित्र विचार, अनुभव र पुस्ताबीचको समन्वय बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। गण्डकी प्रदेश सदस्यसमेत रहेका पौडेलले कार्यकर्ताको सम्मान, सहभागिता र भूमिकालाई प्रभावकारी बनाउँदै कांग्रेसलाई थप जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।