तनहुँ जलविद्युत आयोजना प्रभावितलाई सीपसँगै प्रविधि हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ जलविद्युत आयोजना प्रभावितलाई सीपसँगै प्रविधि हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०८१, शनिबार

    दमाैली । तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रका वासिन्दालाई सीपसँगै प्रविधि हस्तान्तरण गरिएको छ । यहाँ निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई आयआर्जनमा संलग्न गराउन मौरी सहितको घार र अन्य सामग्री हस्तान्तरण गरिएको हो ।

    प्रभावित क्षेत्रका वासिन्दालाई आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन मौरीपालन तालिम दिइएको तनहुँ जलविद्युत आयोजनाका सहायक प्रबन्धक सुरज तिवारीले जानकारी दिए । उनका अनुसार ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका दश जनालाई मौरी सहितको घार, धुवाँदानी र घुम्टो सहयोग गरिएको छ ।

    उनले भने, “आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई माग अनुसारको सीपमूलक तालिम सञ्चालन हुँदै आएको छ । मौरीपालन तालिम पनि माग अनुसार नै सञ्चालन गरिएको हो ।” आयोजनाले प्रभावित क्षेत्रमा बाख्रापालन, मौरीपालन, सिलाइकटाइ लगायतका सीपमूलक तालिम सञ्चालन गरेको छ ।

    तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर बन्न सकिने उल्लेख गरे ।

    तनहुँ जलविद्युत आयोजना अन्तर्गत जीविकोपार्जन अधिकृत दीपक बोहोराले प्रभावित परिवारप्रतिको सामाजिक उत्तरदायित्व क्रमशः पूरा गर्दै जाने बताए।

    आयोजनाले सामाजिक कामलाई समेत प्राथमिकतामा दिएको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरुमा उपभोक्ता समितिहरुमार्फत् सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। उपभोक्ता समितिहरुमार्फत् सञ्चालिन योजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रुपमा अनुगमन तथा सुपरिवेक्षण गरिएको उहाँको भनाइ छ ।

    आयोजनाले हालसम्म ५७ वटा योजना सम्पन्न गरेको छ । त्यस्तै नौ वटा योजनाहरु सञ्चालनमा रहेका छन् । भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ स्थित गणेश आधारभूत विद्यालयको कम्पाउण्ड वाल, म्याग्दे गाउँपालिका–१ स्थित विजय आधारभूत विद्यालयको खेलमैदान सुधार, भिमाद नगरपालिका–५ स्थित दीपक माध्यमिक विद्यालय भवन, व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालय भवन, पाटन ढल निर्माण, भिमाद नगरपालिका–५ स्थित वान्ताङ खोला क्रसिङ संरक्षण र ऋषिङ गाउँपालिका–१ झापुटारस्थित सभाहल निर्माण जारी छ ।