काममा ढिलाईले निर्माणाधीन मुग्लिन पोखरा सडक बिजोग, यात्रा कष्टकर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काममा ढिलाईले निर्माणाधीन मुग्लिन पोखरा सडक बिजोग, यात्रा कष्टकर

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८१, सोमबार

    दमाैली । निर्माणाधीन मुग्लिन पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् ।

    मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्ड अन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । म्याग्दे गाउँपालिकाको मौरीओडार, थर्पु लगायतका ठाउँमा सडक हिलाम्य हुँदा सवारी साधन फस्ने समस्या बढेको छ । दुई पाङ्ग्रे सवारी साधनलाई त झनै निकै सास्ती हुने गरेको छ । हिलोका कारण दुई पाङ्ग्रे सवारीसाधन चिप्लिएर दुर्घटना समेत हुने गरेको छ ।

    वर्षाका बेला उक्त सडकखण्ड हिँड्न समस्या हुने गरेको म्याग्दे गाउँपालिका–४ मनहरिका गौरवराज रानाले बताए। उनले भने, “पानी परेपछि म्याग्देका विभिन्न ठाउँमा निकै सास्ती बेहोर्नुपरेको छ । सडकको काममा ढिलासुस्ती हुँदा वर्षामा जनताले दुःख पाउने भए ।”

    उनका अनुसार म्याग्दे गाउँपालिका–४ थर्पु बजारदेखि अकलामन्दिरसम्मको भागमा काम नहुँदा थप समस्या भएको छ । अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भएपनि थर्पु बजारदेखि अकलासम्मको भागमा कामको गति शुन्य रहेको उनको भनाइ छ । उनले भने, “म्याग्देको रिठ्ठेपानीमा त सडक नै जलमग्न हुँदा साना सवारी साधन आवतजावतमा समस्या भएको छ ।”

    मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा केही प्रगति भएपनि पश्चिम खण्डमा प्रगति निराशाजनक छ । पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म ५६ र पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरासम्म २३ प्रतिशत प्रगति भएको छ ।