दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय स्थापना गरेर तल्लो सेती जलविद्युत आयोजनाको कामलाई अगाडी बढाउन लागिएको छ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाटको तल्लो सेती आयोजनाका लागि कार्यालय स्थापना गरेर काम अगाडी बढाउन लागिएको हो ।
आयोजनाले साराङघाटमा घर भाडामा लिएर वैशाख १ गतेदेखि कार्यालय सञ्चालन गरेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।
तल्लो सेतीको अडिट सुरुङ निर्माणका लागि हालैमात्र सम्झौता भएको छ । तल्लो सेती जलविद्युत आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि आरके इन्जिनियरिङ एण्ड एसोसिएटस्सँग खरिद सम्झौतामा सम्झौता गरिएको छ ।
आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षणका लागि अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको श्रेष्ठले बताए । अनुसन्धानका लागि निर्माण गरिने उक्त सुरुङ पछि अन्य कामका लागि प्रयोगमा आउने उनको भनाइ छ । डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।
नेपाल सरकारले आयोजनाका लागि तनहुँ जिल्लामा करिब पाँच सय ७७ र चितवन जिल्लामा करिब ३२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिइसकेको छ । लिमिडेटले उर्जा मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा उक्त प्रस्ताव गरेको थियो । सरकारले जग्गा प्राप्तका लागि स्वीकृति प्रदान गरेसँगै आयोजनाका लागि जग्गा अधिग्रहणको काम अगाडी बढाउन सहयोग पुग्ने श्रेष्ठले बताअ ।
तल्लो सेती जलविद्युत आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले लगानीका लागि चासो दिएको छ । दुवै दाताहरु यसका लागि सकारात्मक रहेको बताइएको छ ।
उक्त आयोजनाको लागत रु २५ अर्ब अनुमान गरिएको छ । तनहुँ जलविद्युत आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाह समेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो ।