घाउ पाकेर हड्डी निस्कदासमेत उपचार नपाएका देवघाटका भुजेलको निःशुल्क उपचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घाउ पाकेर हड्डी निस्कदासमेत उपचार नपाएका देवघाटका भुजेलको निःशुल्क उपचार

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको देवघाटका राम भुजेलको भरतपुरस्थित एलाइभ अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार सुरू भएको छ । मङ्गलबार विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि एलाइभ अस्पतालले निःशुल्करूपमा उपचार सुरू गरेको हो । एलाइभ अस्पतालका सञ्चालक डा प्रमोद लामिछानेको नेतृत्वमा उपचार सुरू गरिएको हो ।

    देवघाट–४ स्थित रातेपानीका ११ वर्षीय राम भुजेल २०७९ सालको माघ महिनामा भीरबाट लडेर घाइते भएका थिए । उनको दायाँ हात भाँचिएको थियो । समयमै उपचार नपाएपछि पाखुराको हड्डी नै बाहिर निस्किएको थियो । उक्त विषयमा समाचार देखेपछि एलाइभ अस्पतालका डा लामिछानेले उपचार गराउने जिम्मा लिएका थिए ।

    भुजेलको विषयमा समाचार सार्वजनिक भएपछि भुजेल सेवा समाज चितवनले समेत तदारूकता देखाएर रामको उपचारमा सक्रियता देखाएको छ । समाजका अध्यक्ष रामबहादुर भुजेल, सचिव सञ्जय भुजेललगायतको टोली बिरामी रामलाई लिन भोर्ले पुगेका थिए । देवघाटको रातेपानीबाट हजुरआमाले भोर्लेसम्म ल्याइदिएपछि त्यसपछि भुजेल सेवा समाजका पदाधिकारीहरूले भरतपुरसम्म ल्याएका थिए । त्यसपछि मङ्गलबार साँझदेखि नै उपचार सुरू गरिएको छ ।

    डा लामिछानेका अनुसार लामो समयसम्म उपचार नपाएका कारण उपचारमा लामो समय लाग्ने देखिएको छ । ‘तर, उपचार सम्भव छ, जति गर्न सक्छौँ, हामी गर्छौँ,’ उनले भने । भाँचिएर बाहिर निस्किएको हड्डी पूर्णरूपमा मरिसकेको हुँदा त्यसलाई बाहिर निकालिएको छ । (नारायणी अनलाइनबाट)