एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, बिहीबार

    दमाैली । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा (एमाले) लाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले बिहीबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले पार्टीलाई देशकै सबैभन्दा ठूलो र निर्णायक शक्ति बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

    आगामी निर्वाचनमा तीनवटै तहमा एमालेको एकल बहुमत आउने गरी तयारी थाल्न आग्रह गर्दै मुख्यमन्त्री अधिकारीले भने, “आगामी निर्वाचनमा स्थानीय, प्रदेश र सङ्घमा बहुमत ल्याउने गरी काम गर्नुपर्ने लक्ष्यमा हिँडेका छौ । यसका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।”

    पार्टीका स्थायी कमिटी सदस्य रहनुभएका मुख्यमन्त्री अधिकारीले एमाले राष्ट्रिय शक्ति भएकाले त्यसलाई निर्णायक बनाउनुपर्ने देशको आवश्यकता रहेको दावी गरे। देश विकास, स्थिरता र आर्थिक समृद्धिका लागि पनि एमाले मुल शक्तिको रुपमा स्थापित हुनुपर्ने उनको भनाइ थियो ।

    गण्डकी प्रदेशमा सरकार गठनको विषय सर्वोच्चमा विचाराधीन रहेको र सर्वोच्चको फैसला मानेर जानुको विकल्प नभएको उनले उल्लेख गरे। प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया सुरु गर्न लागेको बताउँदै शुक्रबारदेखि सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभामा छलफल प्रारम्भ गरिने बताए। मुख्यमन्त्री अधिकारीले समाजवादको यात्रामा अगाडी बढिएको बताउँदै आइपर्ने बाधालाई पन्छाउँदै अगाडी बढ्ने उल्लेख गरे।

    मुख्यमन्त्री अधिकारीले काङ्ग्रेसले संसदमा अमर्यादित व्यवहार प्रदर्शन गरेको बताउँदै काङ्ग्रेस सच्चिन जरुरी रहेको जिकिर गरे। मुख्यमन्त्री अधिकारीले भ्रष्टाचारलाई ढाकछोप गर्ने, कानूनको दुरुपयोग गर्ने लगायतका काम गर्नेहरुलाई सच्चिन उनले आग्रह गरे ।

    मुख्यमन्त्री अधिकारीले एमालेका कोही पनि सदस्य सहकारीको अपचलनमा रहेको भेटिए तत्कालै कारवाही गरिने उल्लेख गरे। उनले भने, “हामी त्यस्ता व्यक्तिलाई संरक्षण गर्दैनौ, पार्टीकै सहकारी विभागका सचिवको विषयमा कुरा आएपछि हामीले जिम्मेवारीबाट हटाएका छौ ।”

    मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार प्रदेशलाई समृद्ध र विकासको गतिमा अगाडी बढाउन दृढ भएर लागेको उल्लेख गरे।

    एमाले तनहुँका अध्यक्ष हरिराज कंडेलकाे अध्यक्षतामा आयाेजित कार्यक्रमकाे सञ्चालन सचिव प्रदीपराज अधिकारीले गरेका थिए ।