अन्तरपालिका स्तरीय भलिबलको उपाधि शुक्लागण्डकीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तरपालिका स्तरीय भलिबलको उपाधि शुक्लागण्डकीलाई

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८१, आईतवार

    दमाैली । तनहुँको दमौलीमा जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ । तनहुँ जिल्ला भलिबल सङ्घको आयोजनामा आइतबार सम्पन्न फाइनल खेलमा घिरिङ गाउँपालिकालाई पराजित गर्दै शुक्लागण्डकीले उपाधि जितेको हो ।

    शुक्लागण्डकी नगरपालिकाले घिरिङ गाउँपालिकालाई सोझो तीन सेटमा पराजित गरेको हो । शुक्लागण्डकीले घिरिङलाई २५–२०, २५–२३ र २५–२२ अङ्कले पराजित गरेको छ ।

    शनिबार फाइनल खेल आयोजना गरिएकामा दुई सेट सकिएपछि हावाहुरी र पानीले खेल स्थगित भएको थियो ।

    भिमाद नगरपालिकालाई हराउँदै शुक्लागण्डकी नगरपालिका फाइनलमा पुगेको थियो । शुक्लागण्डकी नगरपालिकाले सोझो सेटमा भिमादलाई पराजित गरेको थियो । त्यस्तै ऋषिङ गाउँपालिकालाई हराउँदै घिरिङले फाइनल यात्रा तय गरेको थियो । घिरिङले पनि ऋषिङलाई सोझो सेटमा हराएको हो ।

    यसैगरी प्रतियोगितामा भिमाद नगरपालिका तेस्रो भएको छ । ऋषिङ गाउँपालिकालाई पराजित गर्दै भिमादले तेस्रो स्थान हासिल गरेको छ ।

    उपाधिसँगै प्रथम भएको शुक्लागण्डकी नगरपालिकाले नगद रु एक लाख एक हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको घिरिङ गाउँपालिकाले रु ५१ हजार एक सयका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    तेस्रो हुने भिमाद नगरपालिकाले नगद रु २५ हजार एक सय ११ नगदका साथ टफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतियोगितामा बेष्ट सर्भरको उपाधि घिरिङका हरिकुमार श्रेष्ठ, बेष्ट डिफेन्डरको उपाधि ऋषिङका विकास थापा, बेष्ट सटरको उपाधि शुक्लागण्डकीका अशोक मल्ल ठकुरी, बेष्ट स्पाइकरको उपाधि घिरिङका सुदीप थापा, बेष्ट ब्लकरको उपाधि भिमादका युक्सल थापा, बेष्ट प्लेयरको उपाधि शुक्लागण्डकीका भोजराज बिसी र फेयर प्ले टिमको उपाधि ऋषिङले जितेको छ ।

    विजेतालाई तनहुँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले पुरस्कार वितरण गरेका छन् ।

    प्रतियोगितामा जिल्लाका आँबुखैरेनी गाउँपालिका बाहेक नौ वटा पालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकाको सहभागिता रहेको थियो ।

    भलिबल खेलतर्फ युवालाई आकर्षित गराउँदै दक्ष खेलाडी उत्पादन गर्ने उद्धेश्यसहित सङ्घले अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको सङ्घका अध्यक्ष पदम सुनारले बताउनुभयो ।