सामाजिक कामबाट पहिचान बदल्दै सुदीप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामाजिक कामबाट पहिचान बदल्दै सुदीप

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८१, बुधबार

    दमौली । तनहुँको व्यास नगरपालिका-२ बागबजारका सुदीप गफ्फारको पहिचान फेरिँदै छ । उनी अचेल कहिले खोलामा फोहर टिप्ने अभियान सञ्चालन गर्छन् त कहिले सामाजिक सुरक्षा भत्ता लिन जाने ज्येष्ठ नागरिकको सहजताका लागि सवारी साधन उपलब्ध गराउँछन् ।   
      
    सार्वजनिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा थुप्रिएका फोहर व्यवस्थापन गरी स्थानीयस्तरमा परिचित उनी अहिले जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई निःशुल्क भोजन गराउने अभियानमा व्यस्त छन् । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न बिहान ६ बजेदेखि उक्त कार्यालयमा आउने ज्येष्ठ नागरिक भोकभोकै बस्नुपरेको देखेपछि उनले शुक्रबारदेखि निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिरहेका छन् ।

    “सामाजिक काममा आफूलाई व्यस्त राख्न पाउँदा निकै आत्मसन्तुष्टि हुन्छ, त्यसैले यस्तै काम गर्ने बानी लागिसक्यो । यहीक्रममा अहिले जिल्ला प्रशासनमा आउने नागरिकलाई निःशुल्क खाना उपलब्ध गराइरहेको छु”, उनले भने ।   
      
    यहाँ दैनिक चार सयभन्दा बढी सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका छन् । त्यसमध्ये एक सयले मात्रै सेवा पाउँछन् । बिहानैदेखि पोलो कुर्न बस्नुपर्ने र खाना खाने समय नमिल्ने भएकाले गफ्फारले कार्यालय नजिकैको चौतारामा निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको बताए । उनले भने, “सेवा लिन आउनेहरू बिहानैदेखि भोकभोकै बस्नुपरेको रहेछ, त्यसैले शुक्रबारदेखि सेवा लिन आउने सम्पूर्णलाई खाना खुवाउने व्यवस्था मिलाएको छु । यो अभियानअन्तर्गत शुक्रबार ९०, आइतबार तीन सय र सोमबार तीन सय ५० जनाले निःशुल्क खाना खाएका छन्, मङ्गलबाट पनि यो अभियान जारी रह्यो।”   
      
    सुरूमा एक्लै अभियानमा लागे पनि अहिले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले हातेमालो गरेको उनले बताए । “मलाई देश तथा विदेशमा रहनुभएका शुभचिन्तकले खानाको व्यवस्थापनका लागि आर्थिक सहयोग गरिरहनुभएको छ । प्रशासनमा जबसम्म भीड हुन्छ र यो समस्या रहन्छ, तबसम्म निःशुल्क खाना खुवाइरहने छौँ”, गफ्फार अगाडि भन्छन् ।   
      
    नेपालमा सामाजिक काम गर्ने पवित्र सोच भएकाहरूलाई स्रोतको अभाव नहुने उनको भनाइ छ । उनी भन्छन्, “काम गर्ने सोच मनभित्रैबाट आउनुपर्छ, कसैलाई देखाउनका लागि मात्र गरिने कामले सन्तुष्ट दिँदैन । यो काम गर्नुपर्छ भनेर लागेपछि पूरा गरेरै छाड्ने बानी छ । यो अभियानमा म एक्लो छैन । देश विदेशबाट सहयोग पाइरहेको छु ।”   
      
    गफ्फारले ‘म बदलिए मेरो देश बदलिने छ’ भन्ने मान्यतासहित समाजसेवाका अभियान अगाडि बढाएका छन् । सबैभन्दा पहिले आफू बदलिनुपर्छ अनि अरुलाई बदलिनका लागि सहयोग पुग्छ भन्ने सन्देश फैलाउन आफूले समाजसेवालाई रोजेको उनको भनाइ छ । गफ्फारले केही समयअघि दमौली बजार क्षेत्रको फोहर व्यवस्थापन नहुँदा चोक–चोकमा गएर छरिएको फोहरमैला एकत्रित गरी सहयोग पुर्याएका थिए। त्यस्तै धार्मिक पर्यटकीयस्थल कालिका, मानुङकोटलगायतका क्षेत्रमा सरसफाइ गर्दै आएका छन् ।
      
    गत वैशाख २९ गते बुल्दीखोलामा र जेठ ५ गते चुँदीखोलामा उहाँकै नेतृत्वमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको थियो । दमौलीस्थित बुल्दीखोला सरसफाइ अभियानका क्रममा सात हजार किलोग्राम फोहर सङ्कलन भएको थियो भने बन्दीपुर र भानुको सिमानास्थित चुँदीखोलामा पाँच हजार किलो फोहर सङ्कलन भएको थियो ।   
      
    व्यास नगरपालिकाका पूर्वप्रवक्ता मोहनकुमार श्रेष्ठले गफ्फारले आफूलाई सामाजिक अभियान्ताका रूपमा प्रमाणित गरेको बताउँछन् । उनले भने,“हिजोका दिनमा एउटा सामान्य युवाको रूपमा परिचित उहाँ अचेल युवा अभियन्ता तथा समाजसेवीका रूपमा आफ्नो पहिचान बनाउँदै हुनुहुन्छ । समाज बदल्ने सोच लिएर अगाडि बढेका युवालाई हामी सबैले साथ दिनुपर्छ ।”