


दमौली । तनहुँ जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको स्कूल क्रिकेट लिगको उपाधि व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयले जितेको छ । व्यास नगरपालिका–३ विपी वनवाटिका खेलमैदानमा आज भएको फाइनल खेलमा व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयलाई नौ विकेटले पराजित गर्दै सत्यवतीले उपाधि जितेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको निर्मल माविले ७.४ ओभरमा दश विकेटको क्षतिमा ३६ रन बनाएको थियो । निर्मलका देवराज गर्जाले सात र सुजन बाचेले रन बनाए ।

जवाफी व्याटिङ गरेको सत्यवतीले ८.३ ओभरमा एक विकेट गुमाउँदै ३७ रन बनायो । सत्यवतीका सानुले १८ र बादल श्रेष्ठले सात रन बनाए । उक्त खेलमा निर्मल माविका पारस सन्जेल म्यान अफ दि म्याच घोषित भएका छन् ।
उपाधिसँगै सत्यवतीले ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता निर्मल माविलाई पनि ट्रफी र मेडल प्रदान गरिएको छ ।
विजयीलाई पुरस्कार वितरण गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले क्रिकेट खेलले नेपालको नाम विश्वमाझ चिनाउन सफल भएकाले स्थानीय स्तरदेखि नै क्रिकेटमा लगानी बढाउनुपर्ने अवस्था आएको बताए ।
विद्यालय स्तरदेखि नै खेलाडीलाई क्रिकेटमा आकर्षित गराउँदै प्रदेश तथा राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडी उत्पादन गर्ने उद्धेश्यसहित क्रिकेट लिग आयोजना गरिएको सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए । उनले भने, “पछिल्लो समय क्रिकेट निकै लोकप्रिय छ, विद्यालय स्तरमा लुकेर रहेका खेलाडी पहिचान गर्नु पनि कार्यक्रमको मुख्य उद्धेश्य हो ।”
प्रतियोगितामा जिल्लाभरका नौ वटा विद्यालयको सहभागिता रहेको थियो । सहभागी विद्यालयलाई तीन समूहमा विभाजन गरिएको थियो । प्रतियोगिता लिगका आधारमा खेलाइएको थियो ।
समूह (ए) मा पञ्चमुनीदेव, नेपाल प्रहरी, सत्यवती मावि, समूह (बी) मा निर्मल मावि, बाराही मावि, सर्वज्योति मावि र समूह (सि) मा भानु मावि, रामज्योति मावि र आदिकवि भानुभक्त मावि रहेका थिए ।