दमौली । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलस्थित खत्रीखोलामा गएरातिको बाढीले ह्युमपाइपमा क्षति पु¥याएपछि यातायात अवरुद्ध भएको हो । बुधबार राति परेको भीषण वर्षापछि खोलामा आएको बाढीले ह्युमपाइपमा क्षति पुग्नुका साथै माथिल्लो भाग बगाउँदा यातायात अवरुद्ध भएको हो ।
ह्युमपाइपको माथिल्लो भाग बाढीले बगाएपछि उक्त खण्डमा आज बिहानैदेखि सवारी साधन चल्न नसकेको स्थानीयवासी मनोजकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, “ह्युमपाइप क्षति हुँदा टुहुरेपसल हुँदै चन्द्रावती सञ्चालन हुने यातायात अवरुद्ध भएको छ । यस ठाउँमा विगतका वर्षमा पनि बाढी आउँदा समस्या हुने गरेको थियो ।” वर्षाका बेला समस्या परेपछि सुनुवाइ हुने यस ठाउँमा हिउँद लागेपछि भने सम्बन्धित निकायले चासो नदिने गरेको उनको आरोप छ ।
यस अगाडी कजवे रहेको यस ठाउँमा गत वर्षको बाढीले कजवे भत्काएपछि ह्युमपाइप राखिएको थियो ।
ह्युमपाइप क्षति भएपछि भानु-१२, १३, ६ र ७ मा चल्ने सवारीसाधन चल्न नसकेको वडाध्यक्ष धिरज खनालले जानकारी दिए । उनले भने, ‘भानुको उत्तरीभेग १२ र १३ को लाइफलाइनको रुपमा रहेको यो पुल भत्किदा सर्वसाधारणलाई आवाजजावतमा कठिनाई उत्पन्न भएको छ ।’
यसैगरी वर्षाका कारण भानु नगरपालिका–४ स्थित पिउरीमाटदेखि लौडारी गाउँ जाने बाटोको कजवेमा क्षति पुगेको छ ।