रुसी सेनामा कार्यरत तनहुँका गुरुङको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    रुसी सेनामा कार्यरत तनहुँका गुरुङको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८१, बुधबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडी रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडी मृत्यु भएको हो ।

    रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको बारेमा जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए। उनले भने, “सात महिना अगाडी रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहिन हुनुहुन्थ्यो । त्यसअगाडी भने परिवारसँग कुराकानी भइरहेको थियो ।”

    गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरे । “फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्,” गुरुङले भने ।

    स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ नै शोकमा डुबेको जानकारी दिए । उनले भने, “घटना सुनेदेखि नै सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ ।”

    आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गरे।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गुरुङकाे निधनले हाेनहार युवा तथा कलाकार गुमाएकाे उल्लेख गरे । चुमानले परराष्ट्र मन्त्रालय मार्फत कलाकार गुरुङको शव नेपाल ल्याउन र अन्य सहयोगका लागि अनुराेध गरिएकाे जानकारी दिए ।