भानु जयन्तीमा खुला कविता र रामायणवाचन प्रतियोगिता हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानु जयन्तीमा खुला कविता र रामायणवाचन प्रतियोगिता हुने

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८१, आईतवार

    दमौली । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा जन्मभूमि तनहुँको भानुमा खुला कविता, विद्यालयस्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुने भएको छ ।

    आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानु जयन्तीका अवसरमा असार २८ गते भानु नगरपालिका–४ चुँदीरम्घामा खुला कविता र रामायणवाचन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा सहभागी हुन चाहनेले असार २६ गतेभित्र कार्यालय वा इमेलमा कविता पठाउनुपर्ने विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए ।

    खुला कविता प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार, द्वितीय हुनेलाई रु सात हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने दुई जनालाई जनही रु एक हजार पाँच सय प्रदान गरिने रानाभाटले जानकारी दिए ।

    विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार, तृतीय हुनेलाई रु एक हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच सय प्रदान गरिनेछ । रामायण वाचनमा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार, तृतीय हुनेलाई रु एक हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच सय प्रदान गरिनेछ ।

    भानु जयन्तीका अवसरमा असार २७ गते स्थानीय मठ मन्दिरमा पूजाअर्चना, यही असार २८ गते खुल्ला कविता, विद्यालय स्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुनेछ । असार २९ गते बिहान ७ बजे बाजागाजासहित समितिको कार्यालयबाट भानु प्रतिमास्थल रम्घासम्म प्रभातफेरी, भानु प्रतिमामा पूजाअर्चना, ११ बजेदेखि चुँदीरम्घामा विभिन्न झाँकी प्रदर्शन, कविगोष्ठी, साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम हुनेछ ।

    भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।

    मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेख्नुभएको छ भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिएका थिए ।