बाल उद्यानमा लियो क्लवको खुल्ला पुस्तकालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाल उद्यानमा लियो क्लवको खुल्ला पुस्तकालय

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८१, आईतवार

    दमाैली । लियो क्लव अफ तनहुँले व्यास नगरपालिका–३ स्थित बाल उद्यानमा खुल्ला पुस्तकालय स्थापना गरेको छ । क्लवले आइतबार बाल उद्यानभित्र रहेको भवनमा खुल्ला पुस्तकालय स्थापना गरेको हो । पुस्तकालयको उद्घाटन गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले बाल उद्यान घुम्न आउने सर्वसाधारणले पुस्तकालयबाट नयाँ कुरा सिक्ने पाउने बताइन् ।

    लियो क्लवले सामाजिक क्षेत्रमा सकारात्मक काम गर्दै क्लवको उचो राख्न सफल भएको बताउँदै उनले आगामी दिनमा पनि यस्तै कामको अपेक्षा गरिन् । उनले भनिन् “रमणीय उद्यानमा घुम्न आउनेहरुले विभिन्न पुस्तक पढेर नयाँ नयाँ कुरा सिक्न पाउनुहुनेछ ।’

    व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले लियो क्लव अफ तनहुँले समाजमा गरेका कामले लियो क्लवको छवि उच्च भएको बताए। उनले भने, “युवाको नेतृत्व र क्षमता विकासका साथसाथै सामाजिक काममा लियोले आफूलाई अब्बल साबित गर्दै गइरहेको छ ।”

    लायन्स क्लव अफ नेपाल डिष्ट्रिक्ट ३२५ एल नेपालका चिफ पिआरओ सुरेन्द्र पौडेलले लियो क्लवका हरेक कार्यक्रमम लायन्सले सहयोग गर्ने बताए।

    लियो क्लव अफ तनहुँकी अध्यक्ष बसन्ती थापा मगरले बाल उद्यानमा घुम्न आउने इच्छुक व्यक्तिहरुलाई लक्षित गरी पुस्तकालय स्थापना गरिएको जानकारी दिइन् । उनले भनिन्, “पुस्तकालय दुई चरणमा सञ्चालन गरिनेछ । आगन्तुक व्यक्तिहरुका लागि पुस्तकालयमै अध्ययनको व्यवस्था मिलाइनेछ भने नियमित अध्ययन गर्नेहरुलाई छुट्टै व्यवस्थापन गर्ने सोच राखिएको छ ।”

    ब्रम्हाकुमारी राजयोग केन्द्रले व्यवस्थापन गरेको बाल उद्यानमा भ्रमण गर्ने आन्तरिक पाहुना बढेका छन् । शनिबार र बिदाको दिन यहाँ आन्तरिक पाहुनाको घुइँचो नै लाग्ने गरेको छ ।