वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत आयोजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत आयोजना

    खबरपुञ्ज संवाददाता

    २० असार २०८१, बिहीबार

    दमाैली । तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माणको प्रक्रिया सुरु गरेको हो ।

    वर्षौदेखि खोलामा पुल नहुँदा समस्या भोग्दै आएका यस क्षेत्रका वासिन्दालाई पुल बनेपछि राहत हुने भएको छ । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत यहाँ पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। पुल निर्माणका लागि आयोजनाले असार १४ गते बोलपत्र आह्वान गरेको छ ।

    भण्डारीले भने, “एसियाली विकास बैङ्कको सहयोगमा आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत पक्की पुल निर्माणको प्रक्रिया सुरु भएको हो । पुल बनेपछि यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ ।”

    भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने भिमाद ऋषिङ खण्ड अन्तर्गत वानटाङ खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका हजारौं सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला वारपार गर्न नै समस्या हुने गरेको छ । पुल नहुँदा यस भेगका जनताले जोखिम मोलेर खोला तर्न बाध्य छन् ।

    १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा विभिन्न योजना सञ्चालन गरिरहेको छ । हालसम्म सामुदायिक विकासतर्फ ५३ वटा योजना सम्पन्न भइसकेका छन् भने १२ वटा योजना चालु अवस्थामा रहेको भण्डारीले बताए।

    भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ तल्लो सेटाङमा गणेश आधारभूत विद्यालयको कम्पाउण्डवाल निर्माण, म्याग्दे गाउँपालिका–१ स्थित विजय आधारभूत विद्यालयको खेलमैदान सुधार, भिमाद नगरपालिका–५ स्थित दिपक माध्यमिक विद्यालयको भवन निर्माण, व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालय भवन, ऋषिङ गाउँपालिका–१ स्थित सभाहल निर्माण, सेती नदी दायाँ किनार संरक्षण कार्य, बाँधतर्फबाट लोक्मा जाने पैदलमार्ग निर्माण, बन्दीपुर गाउँपालिका–६ स्थित भुतखोला सराङघाट सडकखण्ड ग्याविन निर्माण, व्यास नगरपालिका–५ स्थित मगर समाज भवन निर्माण, भिमाद नगरपालिका–५ स्थित दिपज्योति आधारभूत विद्यालय भवन मर्मत, भारलाङ्दी खानेपानी समितिलाई सोलार पम्प आपूर्ति कार्य र सेती नदी बायाँ किनार संरक्षण कार्य सञ्चालित छ ।