छिम्केश्वरी अस्पताल आँबुखैरेनी अस्पतालमा समायोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छिम्केश्वरी अस्पताल आँबुखैरेनी अस्पतालमा समायोजन

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८१, आईतवार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल आँबुखैरेनी अस्पतालमा समायोजन हुने भएको छ । आँबुखैरेनीवासीलाई विशेषज्ञ स्वास्थ्य सेवा सहितको उत्कृष्ट सेवा उपलब्ध गराउने उद्धेश्यसहित छिम्केश्वरी अस्पताल आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालमा समायोजन हुन लागेको हो ।

    त्यसका लागि आइतबार यहाँ आयोजित कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष शुक्र चुमान र छिम्केश्वरी अस्पतालका अध्यक्ष कृष्णमान तामाङबीच अस्पताल समायोजन सम्बन्धमा सम्झौता भएको छ ।

    आँबुखैरेनी अस्पताललाई गण्डकीको पूर्वी क्षेत्रको उपक्षेत्रीय स्वास्थ्य हब बनाउने उद्धेश्यले अस्पताललाई निकट भविष्यमा नै ५० शय्याको अस्पताल बनाउने लक्ष्य राखिएको आँबुखैरेनीका अध्यक्ष चुमानले खबरपुञ्जलाई जानकारी दिए । उनले भने, “आँबुखैरेनी अस्पताललाई विशेषज्ञ सुविधासहितको अस्पताल बनाउने लक्ष्य राखिएको छ, त्यसो हुँदा यस भेगका जनताले स्थानीय स्तरमै गुणस्तरीय सेवा पाउनेछन् ।”

    सम्झौता अनुसार छिम्केश्वरी अस्पतालको स्वामित्वमा रहेका सम्पूर्ण स्वास्थ्य उपकरण सामग्री तथा अस्पताल सञ्चालनसँग सम्बन्धित औषधि एवं औषधजिन्य वस्तुहरु आँबुखैरेनी अस्पतालमा हस्तान्तरण गरिनेछ ।

    हस्तान्तरित वस्तुहरुको मूल्याङ्कन गरी आँबुखैरेनी अस्पताल तथा गाउँपालिका परिसरमा शिलालेख स्थापना गर्ने सहमति भएको चुमानले जानकारी दिए । छिम्केश्वरी अस्पताल प्रालिका हाल रहेका शेयर सदस्यहरुको एकाघरका परिवारलाई आँबुखैरेनी अस्पतालमा उपलब्ध हुने सेवा आजीवन निःशुल्क उपलब्ध गराउने सहमति भएको छ ।

    छिम्केश्वरी अस्पताल प्रालि रहेको पूर्वाधारमा गाउँपालिका र निजी क्षेत्रको संयुक्त लगानीमा स्वास्थ्य ऐकेडमी सञ्चालन गरी आँबुखैरेनीलाई स्वास्थ्यको हब क्षेत्र निर्माण गर्ने र छिम्केश्वरी अस्पतालका शेयर सदस्यहरुलाई एकेडेमीको शेयर सदस्य बनाउने सहमति भएको छ । यसैगरी विशेष समारोहको आयोजना गरी छिम्केश्वरी अस्पतालका शेयर सदस्यहरुलाई सम्मान सहित अस्पताल समायोजन कार्यक्रम गर्ने र आँबुखैरेनी अस्पताल सञ्चालक समितिमा छिम्केश्वरी अस्पताल प्रालिमा हाल रहेका शेयर सदस्यहरुमध्येबाट प्रतिनिधित्व गराउने सहमति भएको चुमानले उल्लेख गरे ।