दमौली । तनहुँका सबै स्थानीय तहले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । साउन २५ गते शुक्रबार ३० औं विश्व आदिवासी दिवसका अवसरमा जिल्लास्थित सबै स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, ऑबुखैरेनी, घिरिङ, देवघाट, बन्दीपुर गाउँपालिकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले उक्त दिन नगरपालिका अन्तर्गतका प्रमुख प्रशासकीय कार्यालय, वडा कार्यालय, विद्यालय, अत्यावश्यक बाहेकका स्वास्थ्य संस्था बन्द रहने जानकारी दिए ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले विश्व आदिवासी दिवसका अवसरमा देश तथा विदेशमा रहने सबैप्रति शुभकामना व्यक्त गरेका छन् । भानु नगरप्रमुख आनन्दराज त्रिपाठीले विश्व आदिवासी दिवसले सबै जातजातिबीच सामाजिक सद्भाव कायम गर्न योगदान दिने विश्वास व्यक्त गरेका छन् ।