


दमौली । पर्यटकीय एवं धार्मिक नगरी बन्दीपुरमा साउन १ गतेदेखि सुरु भएको ‘शिव महिम्नाहा उत्सव’ को समापन दामोदर बाबाले गर्ने भएका छन् ।
आगामी सोमबार आयोजना हुने कार्यक्रममा संगीतमय शिव पुराण कथा वाचनका लागि व्यास गुफा मूल संरक्षक कीर्तन शिरोमणि शक्ति स्वरूपानन्द दामोदर बाबा प्रमुख अतिथि रहने जनाइएको छ ।
साउन १ गतेदेखि निरन्तर शिव आराधना तथा सन्ध्याकालीन आरती र हरेक सोमबार हुँदै आएको मर्स्याङ्दी नदी, सिद्धेश्वर महादेव, केबलकार यात्रा, खड्ग देवी मन्दिर विन्दवासिनी मन्दिर हुँदै तीन धारे शिव ज्योतिर्लिंग सम्मको बोलबम यात्राको समापन साउन २८ गते हुँदैछ ।
‘शिव महिम्नाहा उत्सव’ मूल आयोजक समितिका अध्यक्ष किरण पोख्रेलका अनुसार समापन तथा दिव्य महाआरती कार्यक्रम बन्दीपुरको तीनधारा परिसरमा गरिनेछ।
सुरुवाती चरणमा नै हजारौँ भक्तजनहरूको सहभागिता रहेको यस कार्यक्रमले बन्दीपुरको धार्मिक पर्यटनको प्रवर्द्धन गरेको तथा आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने आगन्तुकहरूले बताएका छन् ।
‘शिव महिम्नाहा उत्सव’ मूल आयोजक समिति को आयोजना संचालित यस कार्यक्रमको प्रायोजन बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले गरेको छ। उक्त कार्यक्रमको सहयोगीमा भने बन्दीपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय, खड्ग देवी मन्दिर समिति, तीनधारे टोल विकास संस्था र तनहुँ र गोर्खा जिल्लाका आमा समूहहरू रहेका छन् ।
यसै गरी भजन सहयोगीको रूपमा राधाकृष्ण सांस्कृतिक समूह गगनगौड़ा पोखरा,धर्म जागरण भजन समूह पुरंचौर पोखरा, रास्ट्रिय लोक भजन चुड़का प्रतिष्ठान तनहूँ,बेद अनुयायी भजन कीर्तन समूह तनहूँ,र सिद्देश्वर भजन समूह ढूँगे सांघु पोखरा रहेका छन ।