तनहुँको राजनीतिक सन्दर्भ : हिजो, आज र भोलि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    तनहुँको राजनीतिक सन्दर्भ : हिजो, आज र भोलि

    वैकुण्ठ न्याैपाने

    २३ भाद्र २०८१, सोमबार

    १. पृष्ठभूमि :

    आधुनिक नेपालको निर्माणमा तनहुँ जिल्लामा विगत अवधिमा स्व. रामप्रसाद खनाल, स्व. श्रीभद्र खनाल, स्व. गोवर्धन शर्मा, स्व. एकदेव आले, स्व. पदमबहादुर आले, स्व. पदमबहादुर गुरुङ, स्व. नरबहादुर गुरुङ लगायतबाट महत्वपूर्ण भूमिका निर्वाह भएको राजनैतिक चेतना राख्ने तनहुँबासीलाई अवगत नै छ । नेपालमा प्रजातान्त्रिक पद्धति स्थापनाका लागि लाग्दा पुलिमराङ, तनहुँसुर, ढोरफिर्दी, जामुनेबासीले शहादत प्राप्त गर्नु हुने शहिदहरुको योगदानले तनहुँको राजनैतिक भूमिकालाई अझ उचाइ प्राप्त भएको स्पष्ट नै छ । वहाँहरुको योगदानले नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको यात्रा सहज भएको हो, जस्ले गर्दा तनहुँबासीको शिर उच्चा भएको छ । हामी राजनैतिककर्मीहरुले विगतमा नेतृत्व गर्नुहुने, शहादत प्राप्त गर्नुहुने सबैको योगदान र वहाँहरुबाट स्थापित मूल्यलाई भुल्न सकिंदैन ।

    २. २०४६ सालको राजनीतिक परिवर्तन पछिको तनहुँ :

    २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनको नेतृत्व कांग्रेसका प्रभावशाली नेता स्व. गणेशमान सिंह, स्व. कृष्णप्रसाद भट्टराई, स्व. गिरिजाप्रसाद कोइराला, बाममोर्चाबाट स्व. शाहना प्रधान, स्व. मनमोहन अधिकारी लगायतले गर्नु भएकोले तत्कालीन राजा स्व. विरेन्द्रबाट २०४६ चैत्र २६ गते संवैधानिक हैसियतमा बस्न र संसदीय राजनैतिक पद्धतिलाई संवैधानिक प्रावधानमा राख्न सहमति भएपछि स्व. कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भई २०४७ सालको संविधान निर्माण भएको हो । सोही संविधानका आधारमा २०४८ सालको संसदीय निर्वाचन सम्पन्न भई नेपाली कांग्रेसका स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भए तापनि सरकारको १०० दिन नपुग्दै कर्मचारी आन्दोलन, माओवादी द्वन्द्वको प्रारम्भ, नेपाली कांग्रेस भित्रको आन्तरिक वेमेलले मध्यावधि निर्वाचनमा पुगियो । तत्कालीन माओवादी शसस्त्र द्वन्द्वले कैयौं गाउँका राजनैतिक, सामाजिक नेतृत्वमा रहेका व्यक्तिहरुको हत्या आदिले अत्यन्त कहाली लाग्दो राजनैतिक यात्रामा हामीहरु प्रवेश ग¥यौ । संसदीय निर्वाचन भएपनि स्थानीय निकायको निर्वाचन २०५९ देखि २०७४ सम्म हुन सकेन, विकासका अनेक सम्भावनाहरु अवरुद्ध हुन पुगे । नेपाली कांग्रेसको एकमना सरकार वा संयुक्त सरकार २००७, २०१५, २०४८ र हालसम्म पनि ५ वर्षको निरन्तर कार्यकाल पुरा गर्न सकेको अवस्था छैन । कहिले राणा, कहिले राजा र कहिले माओवादी द्वन्द्वले प्रजातान्त्रिक सरकारले आफ्ना कार्यक्रम एवं नीतिलाई कार्यान्वयन गर्ने अवसर नै पाएन । अधिनायकवादी चिन्तनका विरुद्ध लोकतान्त्रिक मान्यता राखेकाले नेपाली कांग्रेसले संधै आलोचना मात्रै व्यहोर्नुपर्ने अवस्था रह्यो ।

    ३. संवैधानिक राजतन्त्रको मान्यताबाट गणतन्त्रको यात्रा :

    नेपाली कांग्रेस स्थापना कालदेखि नै संवैधानिक राजतन्त्रको पक्षमा रहेको हो । २००७ सालको आन्दोलन पछि तत्कालीन राजा त्रिभुवनले गर्नु भएको घोषणाले संवैधानिक राजतन्त्र सहितको संसदीय पद्धति नेपालको भावी राजनैतिक यात्रा स्पष्ट थियो । तर २०१५ सालसम्म तत्कालीन दरवारको छलछामले निर्वाचन हुन सकेन । २०१५ सालको भद्र अवज्ञा आन्दोलन पछि २०१५ सालको संविधान निर्माण भई आम निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरी स्व. विश्वेश्वरप्रसाद कोइरालाको दूरगामी दृष्टिकोणका साथ बिर्ता उन्मूलन, भूमि सुधार लागू जस्ता कदमले तर्सिएर तत्कालीन सम्भ्रान्त वर्गको लहलहैमा २०१७ साल पौष १ गते निम्त्याइयो निर्वाचित प्राधनमन्त्री समेतलाई जेल हालियो र राजाले नै सबै अधिकार लिई एकदलीय पञ्चायत व्यवस्था लागू गरियो । वि.पि.ले जेल जीवन पछि निर्वासनमा रहेको अवस्थामा शसस्त्र आन्दोलन घोषणा गर्नु भए तापनि त्यसबाट थुप्रै नेपाली कांग्रेसका नेताहरुलाई अनेक वहानामा मारियो । त्यस्तो तिक्ततापूर्ण अवस्थामा पनि वि.पि. ले २०३३ साल पौष १५ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश आउनु भयो, यसपछि देशमा पुनः राजनैतिक हलचल प्रारम्भ भयो । २०३६ सालमा जनमत संग्रह भयो । यस्तैमा वि.पि. को २०३९ साल श्रावण ६ गते दुःखद निधन हुन पुग्यो । यसरी नै २०४२ सालको सत्याग्रह, २०४६ सालको कांग्रेस र बाममोर्चाको संयुक्त आन्दोलन, २०४७ सालको संवैधानिक राजतन्त्र सहितको संसदीय ढाँचामा संविधान निर्माण र निर्वाचन अघि बढिनै रहेको थियो । यसै बिच माओवादी द्वन्द्व, राजा विरेन्द्रको परिवारको हत्या पछि राजा भएका ज्ञानेन्द्र शाहले संवैधानिक राजतन्त्रको मान्यतालाई समाप्त गरेर, राजा पनि आफै र प्रधानमन्त्री पनि आफै हुने गरी चालिएका कदम र कांगेस भित्रको विभाजको फाइदा लिई अधिनायकवादको पुनस्र्थापना गर्न खोजेपछि विभाजित नेपाली कांग्रेस भित्र एकता, गणतन्त्रको मान्यता राख्दै १२ बुँदे दिल्ली सम्झौतासम्म जानुपर्ने वाध्यता राजा स्वयंले निर्माण गरेको राजनैतिक इतिहासका तथ्यहरुले स्पष्ट गरेकै छ ।

    ४. तनहुँको विद्यमान राजनैतिक परिदृश्य र भविष्य :

    राजनीतिका अनेक उकाली ओराली पार गर्दै नेपाली कांग्रेस भित्र संगठन, नीतिगत मान्यता र विकासको नेतृत्व वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वमन्त्री गोविन्दराज जाशीले गर्दै आउनु भएको थियो । उमेर अवस्था र घटनाक्रमले अव वहाँहरु विश्रामको यात्रामा हुनु हुन्छ । श्री रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएपछि भएको तनहुँको उपनिर्वाचनले तनहुँको राजनीतिमा सोच्दै नसोचेको नतिजा प्राप्त भयो । तनहुँको परम्परागत शक्ति नेपाली कांग्रेसका उम्मेदवार र नेकपा एमालेका उम्मेदवार पराजित हुनु भयो र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी हुनु भयो । २०७८ मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनु भएका श्री रामचन्द्र पौडेल माओवादी र समाजवादी समेतको गठबन्धनका उम्मेदवार हुनु भएकोमा २५,३१८ मत प्राप्त गरी विजयी हुनु भयो । नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध उम्मेदवार रहनु भएका श्री एकबहादुर रानाले १९,९४३ मत प्राप्त गर्नु भयो । नेपाली कांग्रसको समानुपातिक मत २०,१५८ रहेको थियो । २०७९ बैशाखमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले २०,१२२ मत ल्याउनु भयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३४,९१९ मत ल्याएर विजयी हुनु भयो । नेकपा एमालेका उम्मेदवारले ८,४४८ मत मात्र ल्याउनु भयो । उक्त उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गठबन्धनका उम्मेदवार भएपनि मत संख्या हेर्दा गठबन्धनको साथ प्राप्त भएको तथ्यबाट देखिंएन । हिजोको नेपाली कांग्रेसको आन्तरिक राजनैतिक घटनाहरुमा सधैं गोविन्दराज जोशी कै साथ रहनु भएका गोविन्द भट्टराईले गोविन्दराज जोशीले २०७८ मंसिरमा पाउनु भएको करीब ६,८७८ मत पनि पाउनु भएन । गोविन्दराज जोशीको राजनैतिक विमति रामचन्द्र पौडेलसँग मात्र हो भनी विश्वास गर्नेहरुले जोशी पक्षको मत कुरिनटारमा सम्झौता गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिइएको बुझेपछि जोशीको विमती कांग्रेस पार्टीसँग रहेछ भन्ने स्पष्ट भएको छ । यस पटक क्रियाशील सदस्यता नवीकरण नगर्न जोशीले गर्नु भएको आव्हान, तनहुँ जिल्लामा स्थानीय तहको निर्वाचनमा एमालेसँग गर्नुभएको गठबन्धन, आफ्ना नजिकका मानिसलाई सूर्य चिन्ह लिएर लडाउनु भएको घटनाले जोशीको नेपाली कांग्रेस पार्टी प्रतिको प्रतिशोध रहेछ भन्ने स्पष्ट देखिएको छ । नेकपा एमालेको ११,४९५ अघिल्लो निर्वाचनभन्दा घटेको मत र जोशी पक्षको करिब ७ हजार मत राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको तथ्यले देखाउँछ । नेकपा एमाले भित्रको उपनिर्वाचनमा देखिएको मतमतान्तर र हालसालै भएको पार्टीगत स्थानीय निर्वाचनले देखिएका दुई समूह बिचको प्रतिस्पर्धाले आगामी दिनमा एमाले भित्रको सांगठनिक एकता र हार्दिकता निकै चुनौतिपूर्ण देखिन्छ, एक समूहको उम्मेदवार हुँदा अर्को समूहले मत नदिने प्रवृत्ति एमाले भित्र पनि प्रवेश गरेको पाइयो । राष्ट्रिय स्वतन्त्र पार्टीको हावाहुरीले नेपाली कांग्रेसका केही प्रतिभावान भविष्य भएका नेताहरु पनि पार्टी परित्याग गरी लाग्नु भयो तर अहिले पश्चातापको क्षणमा हुनु हुन्छ होला । राष्ट्रिय स्वतन्त्र पार्टीको तल्लो तहसम्मको संगठन निर्माणमा कुनै आशाप्रद प्रगति देखिएको छैन ।

    ५. नेपाली कांग्रेस तनहुँको भविष्य :

    तनहुँको राजनीतिमा २०४८ साल पछि रामचन्द्र पौडेल र गोविन्दराज जोशी कै वरिपरि नेपाली कांग्रेसको संगठन र विचारमा घुमीरह्याे । जोशी सहमहामन्त्री रहनु भयो, पौडेल नेपाली कांग्रेको कार्यवाहक सभापति रहनु भयो भने सरकारको महत्वपूर्ण भूमिकामा रहँदै आउनु भयो । तनहुँमा भएका विकासका जस अपजस वहाँहरु कै नाउँमा रहे । अब वहाँहरु मध्ये पौडेल हालको पद र उमेरका कारणले नेपाली कांग्रेसको सकृय राजनीतिमा हुनु हुन्न । जोशीले आफ्नो बाटो बदली सक्नु भएको छ । हाल कांग्रेस केन्द्रीय समितिमा माननीय शंकर भण्डारी, श्री गोविन्द भट्टराई, श्री ध्रुव वाग्ले, माननीय प्रदिप पौडेल हुनु हुन्छ । पौडेल र जोशीको पुस्तान्तरण पछिको नेतृत्वमा रहनु भएका नेताहरुले तनहुँको राजनीतिलाई कसरी बुझ्नुहुन्छ र कसरी नेतृत्व दिनुहुन्छ कांग्रेसको भविष्य निर्धारण हुनेछ । राजनीति भविष्य उन्मुख हुन्छ, आफ्नो सुरक्षा मात्र खोज्नेहरुबाट समग्रताको अपेक्षा गर्न कठिन हुन्छ । विगत पार्टी निर्वाचन, स्थानीय तहको निर्वाचन, संघ, प्रदेश र उपनिर्वाचनका केही असल उदाहरण र केही चुनौतिपूर्ण अवस्थाहरु रहे । विगत स्थानीय निर्वाचनमा व्यास, भानु, आँवुखैरेनी, बन्दीपुर, म्याग्दे, ऋषिङमा गठबन्धन गरिएको थिएन, त्यस्का उपलब्धिहरु के रहे? के रहेनन्? साथै गठबन्धन गरिएका शुक्ला, भिमाद, देवघाट र घिरिङको निर्वाचनका उपलब्धि के रहे? के रहेनन्? त्यस्को सुक्ष्म विश्लेषण हुन आवश्यक छ । तसर्थ आगामी निर्वाचनहरुमा कांग्रेस एक्लै अघि बढ्दा जो उम्मेदवार भएपनि रुखलाई मत दिने अवस्थाको विश्वास निर्माणमा हामी सबै सचेत, सकृय र इमान्दार रहौं ।

    लेखक नेपाली काङग्रेस तनहुँका निवर्तमान सभापति, महासमिति सदस्य एवं व्यास नगरपालिकाका प्रमुख हुन्