‘भिजिट बन्दीपुर २०२५’ घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘भिजिट बन्दीपुर २०२५’ घोषणा

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    दमाैली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउँदै पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट बन्दीपुर २०२५’ अभियान घोषणा गरिएको छ । विश्व पर्यटन दिवसका अवसरमा शुक्रबार बन्दीपुरमा आयोजित कार्यक्रममा भिजिट बन्दीपुर २०२५ अभियान घोषणा गरिएको हो ।

    गण्डकी प्रदेशका कृषि, भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठ र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले उक्त अभियानको घोषणा गरेका हुन् ।

    मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा बन्दीपुरले ठूलो सहयोग पुर्‍याएको बताइन् । बन्दीपुरको कला, संस्कृति, रीतिरिवाज देखेर यहाँ आउने पर्यटक आकर्षित हुने गरेको बताउँदै मन्त्री श्रेष्ठले बन्दीपुरको मौलिकता कायम राख्न आग्रह गरिन् ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि यो अभियान घोषणा गरिएको जानकारी दिए । उनले भने, “बन्दीपुरको सुन्दरतालाई देशविदेशमा प्रचारप्रसार गर्ने मुख्य उद्देश्य रहेको छ ।”

    गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको थापाको भनाइ छ । थापाका अनुसार उक्त वर्षभरि नै बन्दीपुरमा पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । देशका मुख्य सहर काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने थापाले बताए ।

    गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाई भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरेको छ । खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।

    बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्विटजरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आउने गरेको तथ्याङ्क रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।

    भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

    सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । –––