घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८१, सोमबार

    काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

    आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । 

    इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ । त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।