दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बढेको छ । दसैंसँगै बन्दीपुर घुम्न आउने पर्यटक बढेका हुन् ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले यो सिजनमा विदेशी पर्यटकको आगमन सुरु भएको जानकारी दिए । चिसो मौसम सुरु भएसँगै बिस्तारै पर्यटकको चाप बढ्दै जाने उनको भनाइ छ ।
बन्दीपुर घुम्न आउनेमध्ये विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी हुन्छ । गत वर्ष बन्दीपुरमा २६ देशबाट पर्यटक आएको तथ्याङ्क छ । बन्दीपुरमा जापान, चिन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको जनाइएको छ ।
बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । पर्यटकलाई यहाँका गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ ।
बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको छ ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेल लगायत होटल सञ्चालन छ ।