दमाैली । तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा चक्कु प्रहारबाट आज साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले चक्कु प्रहारमा संलग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले खबरपुञ्जलाई जानकारी दिए ।
व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले तामाङलाई चक्कु प्रहार गरेका थिए । प्रहरी निरीक्षक पासवानले भने, “सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।” दुवै जना सडक स्तरोन्नतिमा काम गर्ने मजदुर भएको पासवानले बताए।
विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति काम भइरहेको थियो ।