दमाैली । राष्ट्रिय महिला फुटबलका सदस्य विमला विक नगद सहित गृहजिल्ला तनहुँमा सम्मानित भएकी छन् । व्यास नगरपालिका–२ स्थित बागबजार युवा क्लवले विकलाई बिहीबार दमौलीमा नगद रु दश हजार सहित सम्मान गरेको हो ।
क्लवका अध्यक्ष सुदीप गफ्फारले विकलाई दोसल्ला, प्रशंसापत्र र नगद प्रदान गर्नुभएको छ । खेल क्षेत्रको विकासमा विकले पु¥याएको योगदान र खेल क्षेत्रमा प्रोत्साहनका लागि विकलाई सम्मान गरिएको क्लवका अध्यक्ष गफ्फारले बताए। उनले भने, “नेपाल पछिल्लो समय खेल क्षेत्रबाट विश्वमाझ चिनिन सफल भएको छ । त्यसमा खेलाडीहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।”
सम्मानित भएपछि खेलाडी विकले सम्मानले आफूलाई हौसला मिलेको बताइन् । खेलमा अनुशासन र लगनशीलता आवश्यक पर्ने बताउँदै विकले देशका लागि खेल्न पाउँदा गर्वको महशुस हुने बताइन् ।
कार्यक्रममा क्लवका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्य र शुभेच्छुकको सहभागिता रहेको थियो । सम्मानपूर्व खेलाडी विकलाई नगर परिक्रमा गराइएको थियो ।